एमाले अधिवेशन : काभ्रेका सात वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन


मेचीकाली

अपेडटसहित

बनेपा–देशभर एकसाथ पालिका अधिवेशन गर्ने निर्णयअनुसार काभ्रेका १३ मध्ये दशवटा पालिकामा नेकपा एमालेको अधिवेशन सुरु भएको छ । आज बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा भुम्लु, चौरीदेउराली, महाभारत र तेमाल गाउँपालिकामा तोकिएकै मितिमा अधिवेशन भएको हो ।

अधिवेशन सुरु भएकामध्ये सातवटा पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अन्य पालिकामा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ भने सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।

पछिल्लो  विवरणअनुसार धुलिखेलमा दयाराम महत, पनौतीमा सुरेश हुमागाईं अध्यक्षमा सर्वसम्मत भएका छन् भने अन्य पदाधिकारी चयनको प्रक्रिया जारी छ । पाँचखालमा बिष्णुहरि पौडेलको नेतृत्वमा सर्वसम्मत नगर कमिटी चयन भएको छ भने चौरीदेउरालीमा जीतराम लामा तथा महाभारत गाउँपालिकामा जगत मोक्तानको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ ।  यस्तै भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङको नेतृत्वमा गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको एमाले जिल्ला कार्यालय सचिव हरिकुमार मैनालीले जानकारी दिए ।

नमोबुद्ध नगरपालिकामा नयाँ नेतृत्व चयनको प्रक्रिया भोलीमात्रै सुरु हुनेछ भने अन्य पालिकाले आजै नेतृत्व पाउने बताइएको छ । बनेपा, धुलिखेल, पाँचखाल र मण्डनदेउपुर नगर कमिटीको अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले गरेका थिए । नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको अधिवेशन पूर्वमन्त्री एवं संविधानसभा सदस्य रेशम लामाले उद्घाटन गरेका थिए । पनौती नगरपालिकाको अधिवेशन उद्घाटन नेकपा एमाले वागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य रामहरी सुवेदीले गरेका थिए ।


बास्कोटाले मागे न्यायाधीशको राजीनामा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । 


उनीहरुले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ । यस्तै बास्कोटाले नेकपा एमाले समृद्धिको च्याम्पियन भएको समेत बताएका छन् । पार्टी विभाजनले एमालेलाई कुनै असर नगरेको उनको भनाई थियो । यस्तै एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले माधव नेपालले पदका लागि पार्टी विभाजन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । 

प्रतिक्रिया



थप समाचारहरु