धुलिखेल–नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेको ११ औं जिल्ला कमिटी सिवी लामाको नेतृत्वमा नयाँ जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।
आज सम्पन्न अधिवेशनबाट लामाको नेतृत्वमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशन हुन नदिने प्रयासलाई असफल बनाउँदै इश्वर बल्लभ सापकोटा नेतृत्वको कमिटीले सफलतापुर्वक अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट उपाध्यक्षमा रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भए ।
अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए । अवरोधको प्रयासकाबीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन सुरु गरिएको थियो । अधिबेशन उद्घाटनका लागि केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी बनाईएको भए पनि सहभागि भएनन् । अधिवेशन रोक्न आज बिहानै प्रदेश कमिटी अध्यक्षको नामको निर्देशनपत्र समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । प्रदेश कमिटीको काम समन्वय गर्ने मात्र भएको र कार्यकारी अधिकार भएको केन्द्रीय कमिटीले कुनै निर्देशन नदिएका कारण अधिवेशन सुरु गरिएको थियो ।
यसअघि साउन १७ गतेका लागि अधिवेशन तोकिएको थियो । तर, असन्तुष्ट पक्षको माग संवोधनका लागि भन्दै एक साताका लागि अधिवेशनको मिति सारिएको थियो । असन्तुष्ट पक्षले कुनै पनि हालतमा अधिवेशन सारेर रुपक रायमाझीलाई अध्यक्ष बनाउने तयारी गरे पनि सफल हुन भने सकेनन् । हिजोमात्रै विभिन्न पालिकाबाट प्रतिनिधित्व नहुने पत्रसमेत सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै अधिवेशन रोक्न दबाब दिइएको थियो ।