काभ्रेमा विपत्ति : ३८ जनाको मृत्यु, २० वेपत्ता, १५५ को उद्धार


मेचीकाली

काभ्रे–काभ्रेमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार २० जना अझै हराइरहेका छन् भने १९ जना घाइते भएका छन् ।

बाढी र पहिरोको विपदमा परी पनौती नगरपालिकामा १९ जनाले ज्यान गुमाएका छन् । पनौती नगरपालिकाको खानी क्षेत्र मानिएको वडा नम्वर १२ मा सबै भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् । फार्म हाउस संचालन गरिरहेका जर्मन नागरिक सहित ६ जनाले ज्यान गुमाएका छन् । गम्भिर घाईते दुईजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

पुर्व नगर प्रमुख भिम न्यौपानेका अनुसार घाईतेहरुको उद्दार र बेपत्ताहरुको खोजी कार्यमा स्थानीयहरुको सक्रियता रहेको छ । त्यस्तै पनौती वडा नम्वर १ मा ३ जना, वडा नम्वर २ मा ३ जना, वडा नम्वर ३ मा ३ जना, वडा नम्वर ४ मा १ जना, वडा नम्वर ९ मा १ जना, वडा नम्वर ११ मा ४ जनाले ज्यान गुमाएका छन् । केहि बेपत्ता छन् । 

१५५ जनाको उद्धार

काभ्रेमा आज बिहानैदेखि विभिन्न स्थानमा अलपत्र नागरिकको उद्धार गरिएको छ । नेपाली सेनाको तीन वटा हेलिकप्टरमार्फत जिल्लाको विभिन्न स्थानबाट बाढी, पहिरोमा परी घाईते व्यक्ति, जेष्ठ नागरिक, सुत्केरी र विदेशी नागरिकको उद्धार गरिएको हो । 

नेपाली सेनाको एनए ०६७, एनए ०३८ र एनए ०५५ हेलिकप्टरमार्फत जिल्लाको रोसी गाउँपालिकाको मङ्गलटार, पनौती, चौरीदेउराली, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकामा विपद्का कारण फसेका १५५ जना नागरिकको उद्धार गरिएको छ । हेलिकप्टरमार्फत बाढी, पहिरोका कारण फसेका तीन विदेशी पर्यटक, सुत्केरी, जेष्ठ नागरिक र घाईतेको उद्धार गरिएको नेपाली सेनाको कालिजङ्ग धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए । हलिकप्टरमार्फत नागरिकको उद्धारका साथै बाढी, पहिरोका कारण मङ्गलटार क्षेत्रमा फसेका नागरिकहरुको लागि खाद्यान्न, पानी, चाउचाउ, बिस्कुटलगायतको सामाग्री समेत पठाइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु