नमोबुद्धमा १८ करोडको खानेपानी आयोजनाको काम धमाधम


मेचीकाली

दाप्चा–साविक डराउनेपोखरी गाविस हालको नमोबुद्ध नगरपालिका वडा नम्वर ८ मा काशीखण्ड बृहत खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । 

यो आयोजना मार्फत १ हजार ५ सय घर धुरीलाई खानेपानी उपलब्ध गराईने छ । वडा नम्वर ८ डराउनेपोखरीका अलावा, वडा नम्वर ७ र ९ का उपभोक्ताहरु पनि यो आयोजनाबाट लाभान्वित हुनेछन् । 

‘उपभोक्ताहरुकै पहलमा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना मार्फत  नागरिकहरुको हितका लागि संचालन गरिएको हो’– काशीखण्ड बहृत्त खानेपानी आयोजनाका अध्यक्ष मनोज अधिकारीले भन्नुभयो–‘२६ करोड कुल लागतको आयोजना उच्चकोटी अमर नव आर्दश जेभी कम्पनी मार्फत १८ करोड ४७ लाख रुपैयामा सम्झौता भएको छ ।’ दुई वर्ष अवधीमा सम्पन्न हुने गरी सम्झौता भएको आयोजनाको प्रारम्भिक कार्य शुरु भए पनि औपचारिक शिल्यान्यास नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले आईतबार गर्नु भएको छ । 

२०७९ मसिंर ९ गते सम्झौता गरी मसिंर २२ गतेबाट कार्य प्रारम्भ गरेको उच्चकोटी अमर नव आर्दश जेभी कम्पनीले २०८१ मसिंर २३ गतेसम्म सम्पन्न गर्नेछ । नगरपालिका प्रमुख कुन्साङ लामाले समयमै आयोजना निर्माण सम्पन्न गरी नागरिकहरुलाई खानेपानी समस्या समाधान गर्न अनुरोध गर्नु भयो । नगरपालिकाले शुरु गरेको एक घर एक धारा अभियान कार्यक्रमलाई उक्त आयोजनाले पुर्णता दिन सहयोग पुग्ने बताउँदै नगर प्रमुख लामाले दाप्चा क्षेत्रमा संचालन भएका अन्य आयोजनाहरु पनि समयमै सम्पन्न हुने बताउनु भयो । 

नमोबुद्ध नगरपालिकाको पिपलटार रोशीबाट लिफ्टिङ्ग मार्फत डराउनेपोखरी स्थित तल्लो हटिया नजिकै कालीकुवा माथी डाँडोमा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोहि ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । सोहि ट्याङ्कीको शिल्यान्यास नगर प्रमुख लामाले गर्नु भएको थियो । शिल्यान्यास कार्यक्रममा उपप्रमुख रत्न लामा, वडा अध्यक्ष शेरबहादुर तामाङ, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख अतुलेशकुमार कर्ण, इन्जिनियर सुरेश सत्याल, समितिका बेलबहादुर श्रेष्ठ, रामेश्वर अधिकारी, स्थानीय समाजसेवीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निर्माण ब्यवसायीहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

पिपलटारबाट साढे ६ किमी दुरीको लिफ्टिङ्गमा जिआई पाईप प्रयोग हुनेछ । खोलाको किनारमा समवेल निर्माण हुनेछ । २० मिटर गहिरो समवेलबाट २ मिटर नजिकै फिल्टरका लागि ९ लाख लिटर अट्ने ट्याङ्की निर्माण हुनेछ । सेग्मेन्टेसन प्लान्ट निर्माण हुनेछ । २५÷२५ हजार क्षमताका ४ वटा ट्याङ्क निर्माण हुनेछन् । साना ठुला गरी सोहि आयोजनामा ११ वटा ट्याङ्की निर्माण हुने आयोजनाका संयोजक सुबास श्रेष्ठले बताउनु भयो । 

‘आयोजनामा ३४ किमी लम्बाईमा एचडिपी पाईप विछ्याईन्छ भने साढे ६ किमी लम्बाईमा जिआई पाईप विछ्याउँदै ११ वटा ट्याङ्की निर्माण गरिन्छ’– उच्चकोटी अमर नवआर्दश जेभीका संचालक सुजन श्रेष्ठले भन्नुभयो–‘आयोजना समय अगावै सम्पन्न गर्ने गरी दैनिक २ सय जना कामदार कृयाशिल छन् । फरक फरक क्षेत्रमा अलग अलग जिम्मेवारीमा कामदारहरु लगाए पनि समयमै विनियोजित बजेट उपलब्ध नहुँदा आयोजना सम्पन्न गर्न कठिन नहुने चिन्ता थपिएको छ ।’ चालु वर्षका लागि उक्त आयोजनाका लागि ७ करोड भुक्तानी गर्नु पर्ने भए पनि रकम अभाव भएको भन्दै सरकारले भुक्तानी गरेको छैन । शुरुमा प्राप्त १० प्रतिशत रकमले २५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ । दाप्चा क्षेत्रमा शुरु भएको वडा नम्वर ७ को २४ करोडको लिफ्टिङ्ग आयोजना रकम अभावकै कारण रोकिएको छ भने वडा नम्वर १० मा संचालन भईरहेको ३० करोडको ग्राविटी आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ । आयोजना सम्पन्न गर्न सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको वडा अध्यक्ष शेरबहादुर तामाङले बताउनु भयो । 

प्रतिक्रिया



थप समाचारहरु

 

पलाञ्चोकमा साँढे बोका छाड्न रोक