बाढी प्रभावित क्षेत्रका गर्भवती र सुत्केरीलाई ब्लाङ्केट


मेचीकाली

 धुलिखेल-सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक जिल्लाका बाढि प्रभावित २ नगरपालिका र ४ गाउँपालिकाका गर्भवती र सुत्केरी आमाहरूका लागि ब्लाङ्‌केट वितरण गरेको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले धुलिखेलमा आयोजित एक कार्यक्रममा पालिका प्रमुखहरूलाई सामग्री हस्तान्तरण गरेकी थिइन् ।सञ्जालले बाढीपहिरोबाट प्रभावित जिल्लाको १३ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा रहेका गर्भवती तथा सुत्केरी आमाहरुका लागि एक हजार ९० थान ब्ल्याङ्केट वितरण गरेको हो । सञ्जालले जिल्लाको पनौती नगरपालिकाका ३१६ जना, नमोबुद्ध नगरपालिकाका २१७ जना, बेथानचोक गाउँपालिकाका २३० जना, रोसी गाउँपालिकाका १५३ जना, भुम्लु गाउँपालिकाका १०३ जना र तेमाल गाउँपालिकाका ७१ जना गर्भवती तथा सुत्केरी आमाका लागि सम्बन्धित स्थानीय तहलाई ब्ल्याङ्केट वितरणका लागि हस्तान्तण गरेको छ ।

कार्यक्रममा परराष्ट्र मन्त्री राणाले गर्भवती र सुत्केरी अवस्थाका महिलाहरुको पोषणलगायतमा परिवारका साथै समाज र सरकारले विशेष ध्यान र सहयोग गर्नुपर्ने वताइन् । मन्त्री राणाले गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाको पोषणलगायतमा सहयोग गर्न सके देशले सुयोग्य नागरिक पाउने भन्दैसुरक्षित मातृत्व (सेफ मदरहुड) का लागि घरपरिवारका साथै समाज र सरकारले समेत सहयोग गर्नुपर्ने वताइन् । “एउटा बच्चा घर, परिवारको सदस्य भएपनि उ समुदाय र देशको एउटा नागरिक जन्मिएको हो, त्यो नागरिकको दायित्व सरकारले नि लिनुपर्दछ भन्ने आवाज उठाउँदै आएका छौँ” सञ्जालका संस्थापक अधयक्ष समेत रहेकी मन्त्री राणाले भनिन् ।

कार्यक्रममा कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षित मातृत्व र प्रजनन अधिकारका लागि सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरे। कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तीर्थ लामाले असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण जिल्लामा अर्बौको क्षति भएको बताउँदै बाढीपहिरोका कारण क्षति भएको विपी राजमार्ग पुनर्निर्माणको लागि परराष्ट्रमार्फत पहल गरिदिन अनुरोध गरे ।

महासङ्घका कोषाध्यक्ष सुनिल श्रेष्ठले सन् १९८६ देखि ‘सफा सुत्केरी’ अभियान चलाएको समूह सन् २००५ देखि महासङ्घको रुपमा काम गरिरहेको बताए । उनले सञ्जालले सुरक्षित मातृत्वको लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापनाको साथै विपद, महामारीमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु गर्नको लागि पहल र विपदको समयमा डिग्निटी किट, स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

 


प्रतिक्रिया



थप समाचारहरु