काभ्रेका स्थानीय तह : मापदण्ड विपरितका सेनिटरी प्याड खरिद


मेचीकाली

काभ्रे– महिनावारी हुँदाको समयमा महिलाहरुका लागि उक्त समयमा लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक बिद्यालयका छात्राहरुको लागि वितरण गर्नका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ । स्थानीय तहहरुले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले तोकेको मापदण्ड अनुसार स्थानीय तहहरुले सेनेटरी प्याड खरिद नगरेको पाइएको हो । 

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीको समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारण विद्यालय छाड्ने समस्या समाधान गर्न गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामाग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्नका लागि विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९÷०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाले खरिद गरेको सेनेटरी प्याडमा त्रुटि औँल्याएको हो । जिल्लाको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार नगरेको, सेनेटरी प्याडको लागि आवश्यक पर्ने स्पेशिफिकेशन तयार नगरेको, विद्यालयहरुबाट माग फाराम भरि वास्तविक आवश्यक सङ्ख्या आङ्कलन नगरेको पाइएको छ । 

यस्तै गाउँपालिकाले प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सिधै सेनेटरी प्याड खरिद गरेको, खरिद गरिएका प्याड गुणस्तरीय भए नभएको सम्बन्धमा एकिन गर्न ल्याब टेस्ट गरेको नगरेको र नमूना परिक्षण गर्दा सेनेटरी प्याडमा आवश्यक पर्ने एवजर्विङ क्यापासिटी तोकिएको मापदण्ड अनुरुप नभएको पाइएको हो । गाउँपालिकाले आव २०७९÷०८० मा कोटेशन विधिमार्फत हलेसि मेडिसिन सप्लायर्सबाट १५३०० थान प्रति थान  ५ दशमलव ८९ रुपियाँका दरले खरिद गरी नौ लाख १६ हजार ३१७ भुक्तानी गरेको थियो । पालिकाले खरिद गरेका सेनेटरी प्याड मध्ये एक हजार ३२ वटा प्याड विद्यालयलाई हस्तान्तरण गरेको छ भने बाँकी स्यानीटरी प्याड लेखापरीक्षण अवधिसम्म पनि वितरण नगरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले वितरण नगरी राखेको सामाग्री कुन÷कुन विद्यालयलाई कतिमात्रामा किनिएको हो माग आवश्यकता सहितको लागत अनुमान समेत स्वीकृत नगरेको उल्लेख छ । जिल्लाको भुम्लु गाउँपालिकाले कोटेशन मार्फत सेनेटरी प्याड खरिद गरेकोमा सप्लायर्ससँग सम्झौता समेत नगरी कार्यविधिले निर्धारण गरेको स्पेशीफिकेशन समेत नबनाई खरिद गरेको छ ।

यस्तै सेनेटरी प्याड वितरण तथा व्यबस्थापन कार्यविधि २०७६ मा उल्लेख भएको प्याडको साईज तथा गुणस्तरमा ध्यान नदिई खरिद गरेकोले तोकिएको गुणस्तरको सेनेटरी प्याड खरिद भएको हो भन्नेमा विश्वस्थ हुन नसकेको, खरिद भएका सेनेटरी प्याड १०३६० थान विभिन्न १४ वटा विद्यालयहरुलाई हस्तान्तरण भएकोमा विद्यालयले छात्राहरुलाई वितरण गरेको भर्पाई पेश नगरेको लेखापरीक्षणमा उल्लेख छ । भुम्लु गाउँपालिकाले त्रिनेत्रश्वर मल्टिपर्पोज कम्पनी प्रालिबाट प्रति प्याकेट सेनेटरी प्याड  ६५ (भ्याट बाहेक) का दरले दश हजार ३६० थान सेनेटरी प्याड छ लाख ६३ हजार चार सय रुपियाँमा खरिद गरेको थिया । रासी गाउँपालिकाले आव २०७९÷०८० मा मेरिगोल्ड इन्टनेशनल प्रालिबाट २२ वटा विद्यालयका एक हजार ७२० वटा छात्राका लागि १५ लाख ६७ हजार चार सयमा प्याड खरिद गरेको थियो । गाउँपालिकाले खरिद गरेको प्याड मापदण्ड बमोजिम भए÷नभएको एकिन गरिएको प्रमाण नदेखिएकोले त्यसमा सुधार हुनुपर्ने सुझाव दिएको छ । 

यसैगरी जिल्लाको धुलिखेल नगरपालिकाले १२ हजार ४९५ प्याकेट प्याड खरिद गरी १२ लाख २७ हजार ३२२ रुपियाँ भुक्तानी, मण्डनदेउपुर नगरपालिकाले १९ हजार दुई सय प्याकेट सेनेटरी प्याड खरिद गरी पाँच लाख ६९ हजार ५२० रुपियाँ भुक्तानी  दिएको छ । दुवै नगरपालिकाले माग बमोजिम निकासा दिने, वितरणको अभिलेख राखे नराखेको सम्बन्धमा अनुगमन गर्ने र वर्षान्तमा रहेको मौज्दातको आधारमा नै आगामी आवको लागि आवश्यक परिमाणको एकिन गरी खरिद गर्ने व्यवस्था मिलाउन महालेखाको सुझाव छ । जिल्लाको बेथानचोक गाउँपालिकाले कोटेशन विधि अन्र्तगत पाथिभरा मेडिसिन एण्ड सर्जिकल सप्लायर्स प्रालिबाट प्रति प्याकेट ७२ रुपियाँका दरले १० हजार २५० सेनेटरी प्याड खरिद गरी आठ लाख ३३ हजार ९४० रुपियाँ भुक्तानी गरेको छ । गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयहरुलाई हस्तान्तरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले कार्यविधि बनाई विद्यालयका छात्राहरुलाई वितरण गरिने सेनेटरी प्याडको लागि विभिन्न १२ वटा मापदण्ड तोकेको छ । 

गोरखापत्र दैनिकमा प्रकाशित समाचारको आधारमा तयार पारिएको समाचार





प्रतिक्रिया



थप समाचारहरु