पनौती, काभ्रे । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि प्याब्सन पनौतीले रु. ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग गरेको छ।
प्याब्सन काभ्रेमार्फत प्याब्सन पनौतीमा आबद्ध सदस्य विद्यालयहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
प्याब्सन काभ्रे जिल्ला बैठकका क्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो। केन्द्रीय प्याब्सनका उपमहासचिव भीमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रीय प्राज्ञिक सदस्य रवि वैद्य, प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठलगायत पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
प्याब्सन पनौतीका अनुसार सहयोग रकम विभिन्न १४ सदस्य विद्यालयबाट संकलन गरिएको हो।
सहयोग गर्ने विद्यालयमध्ये काभ्रे इङ्लिश मा.वि.ले रु. २ लाख ६७ हजार २५५, न्यु राइजिङ मा.वि.ले रु. १ लाख ४१ हजार १११, सरस्वती कुञ्ज बोर्डिङ स्कुलले रु. १ लाख ३५ हजार १०५ र नवरत्न अङ्ग्रेजी मा.वि.ले रु. १ लाख ११ हजार १११ सहयोग गरेका छन्।
त्यस्तै अरुणोदय अङ्ग्रेजी मा.वि. र सामुदायिक बोर्डिङ स्कुलले रु. १ लाख १ हजार १११ का दरले, सिद्धार्थ बनस्थली इन्स्टिच्युटले रु. ८५ हजार ५५५, हाइल्याण्ड अङ्ग्रेजी बोर्डिङ स्कुलले रु. ५० हजार ५५५ तथा लिलावती नेसनल एकेडेमीले रु. ५० हजार ५ रुपैयाँ सहयोग गरेका छन्।
ज्ञानज्योति एजुकेसनल एकेडेमीले रु. ४० हजार, सूर्योदय अङ्ग्रेजी मा.वि.ले रु. ११ हजार १११, मानेदोभान इङ्लिश स्कुलले रु. १० हजार ३, बाटिका दि गार्डेनले रु. १० हजार र पुष्पाञ्जली किन्डरगार्डेनले रु. १० हजार सहयोग गरेका छन्।
प्याब्सन पनौतीले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय, विद्यालय परिवार तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
प्याब्सन पनौतीले विपद्का बेला पीडितको साथमा उभिनु मानवताको सच्चा परिचय भएको उल्लेख गर्दै एकता, सहकार्य र मानवीय सहयोगको भावना निरन्तर कायम रहनुपर्नेमा जोड दिएको छ।