विपद्ले धरापमा विद्यालय, १३ वटा टिएलसी बनाउनुर्ने


मेचीकाली

काभ्रे– असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण काभ्रेका एक दर्जन भन्दा बढी विद्यालयको पढाई प्रभावित बनेको छ ।

विद्यालय भवन नै भतिकएपछि र धरापमा परेका कारण ती विद्यालयमा पढाई नियमित गर्न समस्या परेको छ । बाढी र पहिरोका कारण काभ्रे जिल्लामा रहेका १७९ वटा विद्यालयमा क्षति पुगेको थियो । यद्यपि सञ्चालन गर्नका लागि १३ वटा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गर्नुपर्ने देखिएको छ । 

सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रनमाया फ्याकले बाढीपहिरोका कारण जिल्लामा क्षति पुगेका विद्यालयहरुमध्ये १३ वटा विद्यालयमा नियमित कक्षा सञ्चालनका लागि अस्थायी सिकाई केन्द्र निर्माण गर्नुपर्ने भएको बताउनुभयो । उहाँले कात्तिक ११ गतेदेखि १४ गतेसम्म कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका १३ वटा र सिन्धुपाल्चोकको एउटा विद्यालयमा तत्काल टिएलसी निर्माण गर्नुभएकोले प्रदेश शिक्षा विकास निर्देशनालय हेटौडमा पत्राचार गरिएको बताउनुभयो । कार्यालयले जिल्लाको पाँचखाल नगरपालिका–२ मा रहेको जनजागृति प्रावि, पनौती नगरपालिका–१ स्थित भालचन्द्र मावि, पनौती नगरपालिका–२ स्थित फुलचोकी आधारभूत विद्यालय, पनौती नगरपालिका–१२ स्थित भूमेश्वर आधारभूत विद्यालय, चौरीदेउराली गाउँपालिका–६ स्थित महाकाली मावि र नमोबुद्ध नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयमा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गर्नुपर्ने भन्दै प्रदेश शिक्षा विकास निर्देशनालयमा अनुरोध गरेको छ । 

यस्तै जिल्लाको बेथानचोक गाउँपालिका–४ मा रहेको कालिका मावि, रोसी गाउँपालिका–१ मा रहेको डुम्बर प्रावि, वडा नम्बर–३ मा रहेको भुमेस्थान प्रावि, वडा नम्बर–७ मा रहेको अमरनाथ प्रावि, वडा नम्बर–८ मा रहेको विद्याविकास प्रावि, देविश्वरी प्रावि र वडा नम्बर–१० मा रहेको महाभारत प्राविमा टिएलसी र शौचालय अत्यन्त आवश्यक रहेकोले त्यसका लागि बजेट विनियोजन गरिदिन निर्देशनालायलाई कार्यालयले अनुरोधसहित सिफारिस गरेको छ । त्यस्तै कार्यालयको कार्यक्षेत्र रहेको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ मा रहेको भूमेश्वर आविमा समेत टिएसली निर्माणको लागि अनुरोध गरेको हो । कार्यालय प्रमुख फ्याकले कार्यालयले टिएसली निर्माण गर्नुपर्ने विद्यालयहरुको नाम सिफारिस गरेपनि यस सम्बन्धी निर्णय गर्ने काम निर्देशनालयको रहेको बताउनुभयो । असोज दोस्रो सातामा अविरल वर्षासँगै आएको बाढीपहिरोबाट जिल्लाका १३ स्थानीय तहमध्ये १२ स्थानीय तहका १७९ वटा विद्यालयमा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । 

हालसम्म प्राप्त तथ्याङ्क अनुसार जिल्लाको तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा २९, पनौती नगरपालिकामा १८, पाँचखाल नगरपालिकामा १२, बनेपा नगरपालिकामा चार, भुम्लु गाउँपालिकामा दश वटा विद्यालयमा क्षति पुगेको छ । त्यस्तैगरी जिल्लाको रोसी गाउँपालिकामा १८, बेथानचोकमा २६, खानीखोलामा चार, चौरीदेउराली गाउँपालिकामा २८, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा १४ वटा विद्यालयमा क्षति पुगेको छ । बाढीपहिरोबाट कतिपय विद्यालयको भवन, शौचालय, खानेपानी प्रणाली, घेराबार, पर्खाल, खेलकुद मैदानमा क्षति पुगेको छ । बाढीपहिरोबाट क्षति भएका विद्यालयहरुमध्ये ४२ वटा विद्यालयमध्ये कतिपयको भवन, पर्खाल, खानेपानी, शौचालय, खेलकुद मैदानको पुननिर्माण गर्नुपर्ने देखिएको छ भने अन्य विद्यालयमा भने मर्मतसम्भारको काम गर्नुपर्ने देखिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु