काभ्रे–काभ्रेका ५ वटा पालिकाले सरकारबाट तत्कल १ करोड रुपैयाँ पाउने भएका छन् । सरकारले विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसमा काभ्रेका ५ पालिकाले १ करोडका दरले राहत पाउने भएका छन् ।
सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ । जसमा अतिप्रभावित पालिकामा परेका काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । काभ्रेका मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिकाले ७५ लाख रुपैयाँ पाउनेछन् भने पाँचखाल नगरपालिको ५० लाख पाउनेछ । बनेपा र धुलिखेल नगरपालिका भने संकटग्रस्त पालिकामा परेका छैनन् ।
काभ्रेबाहेक ललितपुरको अति प्रभावित महाङ्काल, कोञ्ज्योस्योम, बाग्मती गाउँपालिका तथा गोदावरी नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । ७५ लाख रुपैयाँ पाउने पालिकाहरूमा पाँचथरको फिदिम गाउँपालिका, धादिङको धुनीबेशी नगरपालिका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि ७५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । इलामको सन्दकपुर गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, दोलखाको बिगु र शैलुङ गाउँपालिकाले ५० लाख रुपैयाँ राहत पाउने निर्णय भएको छ । यसैगरी दोलखाको गौरीशङ्कर, धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी र खनियाबास गाउँपालिकाले पनि ५० लाख राहत पाउने निर्णय भएको छ । पाँचथरको फाल्गुनन्द र फालेलुङ गाउँपालिका, मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका, महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापाथी गाउँपालिका र मन्थली नगरपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने भएका छन् ।
रौतहटको राजपुर र गढीमाई नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोरा नगरपालिका, राजदेवी नगरपालिकालाई पनि ५० लाख राहत दिने निर्णय भएको छ । सप्तरीको बलान केबुल गाउँपालिका, बलरा नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिका, सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पनि ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
सिन्धुलीको फिक्कल र हरिहरपुरगढी गाउँपालिका, सिरहाको लाहान नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दूधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।