पर्यटकको पर्खाइमा बसिरहेको शैैलुङ


मेचीकाली

काठमाडौँ । हरियो अग्ला– अग्ला पहाडहरु । थरीथरीका फुलहरु । यहाँ पुग्ने हरकोही  सैलुङको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । सयौ वर्ष पहिले ऋषिमुनीहरु तपस्यामा थिए । कलि युगसँगै ऋषिमुनीहरु पाप देख्न नपरोस् भनेर त्यही ठाउँमा बिलिन भए । तीनै ऋषिमुनी बिलिन भएका प्रत्येक ठाउँमा थुम्का निस्किए र तामाङहरुले ती थुम्कालाई शैलुङ नामाकरण गरे भन्ने किम्बदन्ती छ । त्यही शैलुङले अहिले पर्यटक पर्खिरहेको छ ।


समुन्द्र सतहदेखि ३४ सय मिटरको उचाइमा रहेको शैलुङ रामेछाप र दोलखाको सिमानामा पर्दछ । शैलुङको धेरै भाग रामेछापमा पर्दछ भने केही भाग दोलखामा पर्दछ ।


काठमाडौंबाट बीपी मार्ग हुँदै सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदीमा रहेको सित्खा पुल तरेर दोरम्बा निस्कँदै शैलुङ पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट पनि खाँडादेवी हुँदै दोरम्बा निस्किएर शैलुङ पुग्न सकिन्छ । यसै गरी रामेछापकै फुलासी, डडुवा हुँदै पनि शैलुङ जाने बाटो छ ।


दोलखाको कालापानीबाट पनि शैलुङसम्म पुग्ने सडक बनेको छ । चारैतिरबाट सडक सञ्जालमा जोडिएको कारण शैलुङ सहज पर्यटकीय गन्तव्य बनेको छ । शैलुङ काठमाडौं र तराईका घुम्न चाहनेको लागि समेत केन्द्र पनि हो । त्यसैले यो पहाड, उपत्यका र तराईको सङ्गम थलो जस्तै बनेको छ ।


हिउँदमा हिउँ र फागुन–चैतमा विभिन्न जातका गुराँसले ढाक्ने शैलुङ अहिले विभिन्न जातका भुँइ फूल सिँगारिएको छ । शैलुङको काखमा चरिरहेको चौँरी र भेडाले थप आकर्षण थपेको छ । प्राकृतिक रूपमा बनेका आकर्षक एक सय बढी थुम्का शैलुङमा छन् । तिनै थुम्काको कारण शैलुङ नामाकरण भएको हो । तामाङ भाषमा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । यसैबाट शैलुङ नामाकरण भएको मानिन्छ ।


शैलुङबाट हिम श्रृङखलाका साथै टाढासम्मको भूभाग समेत अवलोकन गर्न सकिने भएकोले पनि यसको छुट्टै महत्व छ । अहिले शैलुङको टुप्पोमा टावर निर्माण गरी दृश्यावलोकनको लागि शैलुङलाई थप आकर्षक बनाइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु