पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन संस्थागत विद्यालयहरु अन्तर्गत मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको पेशागत हक हीत केन्द्रित छाता संगठन हो । जहाँ तीनै पालिकामा रहेका संस्थागत विद्यालयहरु सदस्य रहने प्रावधान छ । यसले शिक्षा, शिक्षण क्षेत्र, प्रतिस्पर्धात्मक आद्युनिक शिक्षाकोमा ठूलो भूमिका निर्वाह गर्दै आएको छ । मण्डनदेउपुर, पाँचखाल र भुम्लुको शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्नु यसको प्रमुख उदेश्य र लक्ष्य रहेको छ । यसले पठन पाठन क्षेत्रको अलावा विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापहरु र केहि मनोरञ्जनात्मक र अध्ययन अवलोकबाट सिकाईको सन्दर्भलाई समेत जोड्ने जमर्को गर्दै आएको छ । जस अनुरुप यो यात्रा र विभिन्न यात्रा स्मरणको कुराहरु अगाडी वढेको हो ।
काठमाडौंबाट बस तथा माइक्रो बसमा यात्रा गरेर झापाको बिर्तामोड पुगिन्छ । काभ्रेको सन्दर्भमा केन्द्रित भएर कुरा गर्नु पर्दा धुलिखेलबाट वी.पी. राजमार्ग अन्तर्गत बनेपा बर्दिबासको सडक प्रयोग गर्दै सिन्धुलीको भिमानबाट छोटो र नयाँ बनेको सडक प्रयोग गर्दै अगाडी वढ्न सकिन्छ । जाँदा त्यहि सडक र फर्किंदा ढल्केबरबाट छिरेर बर्दिबास हुँदै हाम्रो यात्रा शुरु र अन्त्य भएको थियो ।
सडकमार्ग भएर जानेहरूका लागि काठमाडौंबाट विर्तामोडसम्म करिब १० घण्टाको यात्रा गर्नुपर्ने हुन्छ । झापा तथा ताप्लेजुङको सुकेटारसम्म जानको लागि हवाई मार्गको प्रयोग गर्नपनि सकिन्छ । त्यति मात्र नभएर काठमाडौं विमानस्थलबाट भद्रपुरका लागि दैनिक करिब दस फ्लाईट उडान हुने गर्छ । भद्रपुरबाट विर्तामोडको दूरी गाडीमा करिब आधा घण्टाको हो । काठमाडौंबाट सोझै ताप्लेजुङको लागि समेत हवाई सेवा उपलब्ध छ । नेपाल एयरलाईन्स र सीता एयरले यो सुविधा उपलव्ध गराउँछ ।
बिर्तामोडबाट करिब १५ मिनेटको दुरी पार गरेपछि मेची राजमार्ग भेटिन्छ । २ सय ३६ किलोमिटर लामो यो राजमार्ग मनोरम पहाडी मार्ग हो । यस राजमार्गले झापालाई पहाडकी रानी उपनामले चिनिने इलाम हुँदै पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेको छ ।
यस राजमार्गबाट बाटोमा पर्ने इलाम कन्यामको मनोरम चिया बगानहरू छिचोल्दै तपाईं करिब ८ घण्टाको यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ । ताप्लेजुङ जोड्ने मेची राजमार्ग पुरानो र चल्तिको मार्ग हो । यसबाहेक धरानबाट भेडेटारको पहाडी मनोरम वातावरणमा रमाउँदै धनकुटाको मूलघाटबाट तमोर नदीको किनारै–किनार ताप्लेजुङ पुग्ने वैकल्पिक मार्गसमेत निर्माण भएको छ ।
तमोर करिडोरले चिनिने यो मार्ग ताप्लेजुङ पुग्ने अत्यन्तै छोटो मार्गको रुपमा चिनिन्छ । निर्माणाधीन अवस्थामा रहेकाले यो मार्गको यात्रा विशेषत हिउँद याममा सहज हुने गर्छ । कालोपत्रे नभइसकेको र ग्राभलिङ सडक भएकाले हाल जीप सेवा मात्र यहाँको लागि उत्तम छ । यो मार्गको प्रयोग गरेर धरानबाट करिब ६ घण्टामा ताप्लेजुङ पुग्न सकिन्छ ।
अर्काे वैकल्पिक मार्ग धरान–धनकुटा लालीगुराँस नपा बसन्तपुर–गुफा पोखरी हुँदै ताप्लेजुङको हो । यो राजमार्गले गुराँसका राजधानी मिल्के जलजलेलाई छिचोल्दै ताप्लेजुङलाई जोड्छ । यो मार्ग पनि निर्माणाधीन अवस्थामा रहेकाले कच्ची सडकको रुपमा रहेको छ ।
ताप्लेजुङबाट पाथीभरा ताप्लेजुङको सदरमुकामबाट १७ किलोमिटर मोटर यात्रापछि करिब एक घण्टामा सुकेटार विमानस्थल हुँदै पाथीभराको काफ्लेपाटी पुगिन्छ । काफ्लेपाटीबाट पैदल मार्ग सुरू हुन्छ । काफ्लेपाटीबाट एक घण्टाको पैदल यात्रामा फेदी (कान्छीथान) पुगिन्छ । काफ्लेपाटी र फेदीमा बस्नका लागि सुविधा सम्पन्न होटलहरू छन् ।