काठमाडौंको बालाजु बाइपासबाट पासाङ ल्हामु राजमार्गको तीनपिप्लेसम्म पुग्न सकिन्छ । गाडीमा ९ किमि हिंडेपछि पिप्लेबाट भुवनेश्वरी, श्यामबाबा आश्रम हुँदै पाँचमाने, पाँचमानेबाट एक घन्टा निकुञ्जको उकालो चढेपछि तारकेश्वर पुगिने रहेछ । अझ सजिलोसंग भन्नुपर्दा काठमाडौंबाट ग्राण्डी अस्पतालको छेउबाट टोखा, झोर हुँदै नुवाकोट जाने सडक प्रयोग गर्दै त्यहाँसम्म पुग्न सकिने रहेछ ।
हामी हाम्रो कार्यक्रमलाई विहानी काइकिङ, हाइकिङसंग जोडिएको रिसर्च र हाइकिङ पछिको खानाको चरण गरी ३ चरणमा विभक्त गर्न खोज्दै थियौं । नास्ता र खानाको चरणलाई केहि समय पिक्निक र मनोरञ्जनमा ढाल्नु त छँदै थियो । त्यस अनुरुप तारकेश्वरबाट ५.५ किमिमा गुर्जे भञ्ज्याङ पुगियो । त्यहाँ स्थित दी लङ्काज रिसोर्टमा विहानी हल्का चिया नास्ता लिएर हाम्रो यात्रा अगाडी वढ्यो ।
बाटोमा हाँस्दै, खुसी हुँदै र रमाउँदै शिवपुरी राष्ट्रिय निकुञ्जको बाटोतर्फ लाग्यौं । निकुञ्ज राष्ट्रिय सम्पत्ति भएकाले यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो । त्यहाँका बोटबिरुवा चुँड्ने वा अन्य चिज टिपेर ल्याउने गर्नु हुँदैन भन्ने राम्रो ज्ञान भएका हामीले त्यहाँ ठूलो स्वरले कराउने, चिच्याउने र होहल्ला नगरी यात्रालाई अगाडी वढाइरह्यौं । जंगली जनावर र पन्छीलाई जिस्क्याउने र हानी पुर्याउने काम अलिकतिपनि गरिएन ।
उपत्यका भित्रको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बुढानीलकण्ठको सिमानामा पर्ने शिवपूरी राष्ट्रिय निकुञ्ज हाइकिङको लागि अतिनै उपयुक्त क्षेत्र हो । चिसो हावा, सुन्दर तथा हरियाली जंगल र स्वच्छ वातावरण यस क्षेत्रका विशेषता हुन् । हाइकिङकै शीलशीलामा ‘शिवपूरी डाँडा’ काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्र हो । काठमाडौमा बग्ने बाग्मती, बिष्णुमती लगाएत प्रसस्त नदीहरूको श्रोत शिवपूरी डाँडा नै हो । उपत्यकाबाट नजिकै रहेको यो स्थान अझै व्यवस्थित गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक आकर्षक हाइकिङ गन्तव्य बन्न सक्छ ।’
एक दिनको यात्रा अर्थात् हाइकिङ, बिहान निस्केर बेलुका घर आइपुग्ने हाइकिङलाई ’डे टुर’ पनि भन्न सकिन्छ । हिजोआज शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई ’रिफ्रेस’ पार्न खोज्नेहरूबीच लोकप्रिय बन्दै गएको छ– ‘हाइकिङ’ । काठमाडौं उपत्यकाको वरिपरि त्यस्ता धेरै हाइकिङ ट्रेलहरू छन्, जहाँ बिहान शहरबाट निस्केर बेलुकी मज्जाले घर फर्किन सकिन्छ ।
शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङ्गमती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, धुलिखेल देविस्थान, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनी आदि त्यस्ता रुटहरू हुन् । त्यहाँ पाइने वनजंगल, चराचुरुङ्गी तथा वनस्पति त प्रेमीहरूका लागि अझै ’विशेष’ मान्ने गरिन्छ ।
शारीरिक कसरत र रमाइलोका लागि गरिने एकदिने हाइकिङमा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ । दैनिक हिंड्न नभ्याउनेहरूले कम्तीमा महीनाको एकचोटि हाइकिङ जाँदा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार गराउन पाउँछन् ।
‘जाँदा उकालो र फर्कंदा ओरालो’ । उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ । उकालो–ओरालो हिंड्दा खुट्टा दरिलो हुन्छ, रगत सफा हुन्छ, शरीरको स्टामिना बढ्छ र समग्रमा स्वास्थ्यलाई फाइदा पुग्ने गर्दछ । हाइकिङ जाँदा एकदिन भए पनि शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ । काठमाडौं उपत्यकाको एउटा विशेषता के छ भने, यहाँको शहरी क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा कुनै हाइकिङ रुटको एकछेउमा सहजै पुग्न सकिन्छ ।
शिवपुरीको अधिकतम उँचाइ २,५६३ मीटर रहेको छ । समय लिएर हाइकिङ्मात्र गर्ने हो भने करिब ६÷७ घण्टामा १६ देखि १८ किमीसम्मको हाइकिङ सहजै गर्न सकिन्छ । बूढानीलकण्ठ मन्दिर, नागी गुम्बा, पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा, लाङटाङ हिमाल रेञ्ज रहेको छ । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल रहेका छन् । बूढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ वाग्द्वार (विष्णुमतीको मुहान) हुँदै या बायाँतर्फको रुटबाट डाँडामा पुगिन्छ । वाग्द्वारबाट पनि शिवपुरी पुग्ने एउटा राम्रो रुट हो ।