पत्रकार महासंघ काभ्रेको स्थापना दिवसमा पूर्वअध्यक्षहरु सम्मानित


मेचीकाली

बनेपा–नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आज एक कार्यक्रमको आयोजना गर्दै २९ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा महासंघ काभ्रेका पूर्वअध्यक्षहरुलाई र महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष ईश्वरी ओझा, भोला थापा, नारायण सापकोट र मोतिराम तिमल्सिनाई कदर पत्रद्धारा सम्मान गरिएको हो । काउन्सिलका अध्यक्ष बस्नेतले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रमको अवसरमा पत्रकार महासंघ काभ्रेकी कार्यालय सहयोगी मञ्जु तामाङलाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा गत वर्षको कोरोनाको समयमा महासंघले स्थापना गरेको कोरोना आपतकालिन राहत कोषमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बस्नेतले पछिल्लो समयमा देशमा राम्रा पत्रकारहरु उत्पादन नभएको भन्दै राम्रा पत्रकार उत्पादन नहुँदा पत्रकारितामा पत्रकारको खडेरीको सम्भावना भएकोले यसमा काउन्सिल र पत्रकार महासंघ दुवैले ध्यान दिनु जरुरी रहेको बताए । उनले पत्रकार शुद्धिकरणको आवश्यकता रहेको बताउँदै पत्रकारको शुद्धिकरण नहुँदा कसलाई पत्रकार भन्ने अन्यौलता समेत जनमानसमा पैदा भएको बताए । दुई वर्षदेखि रोकिएको पत्रपत्रिका बर्गीकरणको काम सुरु गर्ने तयारी भईरहेको बस्नेतले जानकारी दिए ।

कार्यक्रममा काउन्सिलका सदस्य ठाकुर बेल्बासे, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, पूर्वअध्यक्षहरु भोला थापा, नारायण सापकोटा, मोतिराम तिमल्सिना, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य पेमा लामा, महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भूवन रायमाझी, प्रेस यूनियन काभ्रेका उपाध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष रोजन तामाङ, समाजवादी पत्रकार संगठन बागमती प्रदेशका अध्यक्ष ध्रुर्व रायमाझीलगायतका व्यक्तिहरुले पत्रकारिताको विकासलगायतको बारेमा आफ्नो भनाई राखेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु