धुलिखेल - जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकद्वारा बिहीबार स्थानीय तहहरुसँगको समन्वयात्मक गोष्ठी कार्यक्रमकाे आयोजना गरिएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र भएकाे कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेका कार्यक्रमहरुकाे कार्यप्रगति र आगामी योजना लगायतका विषयमा गोष्ठीकाे आयोजना गरेको हाे। कार्यालयले ६ महिनाको अवधीमा गरेका आर्थिक, भौतिक तथा अन्य प्रशासनिक कार्यका बारेमा जानकारी गराएको थियो ।
पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.सृजा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को अर्ध बार्षिक समीक्षा तथा सप्ताहब्यापी पिपिआर रोगविरुद्धको खोप अभियानको प्रगतिका बारेमा जानकारी गराइयाे । कार्यक्रममा कार्यालय प्रमुख डा. वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । चार चरणमा गरिएकाे कार्यक्रमकाे विशेष अतिथि स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्रका डा. धनराज रतला हुनुहुन्थ्याे । गाेष्ठीमा बनेपा नगरपालिकाका तर्फबाट रामसुन्दर सापकाेटाले नगरपालिकाले ६ महिनामा गरेका कामहरु र आगामी दिनमा गर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयाे भने सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाका तर्फबाट उपेन्द्र पण्डतले कार्यपत्र प्रस्तुत गर्नुभयाे ।
यस्तै विशेष अतिथि डा रतला, डा रेवतीमान श्रेष्ठ र डा बाेधनाथ अधिकारीले पनि फरक फरक विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएकाे थियाे । प्रस्तुत भएका कार्यपत्रहरुमाथि सहभागीहरुले छलफल गरेका थिए । कार्यक्रममा जानकारी दिइएअनुसार गत माघ २४ देखि ३० गतेसम्म दुई जिल्लामा रहेका भेडाबाख्राहरुमा पिपिआर रोगविरुद्ध खाेप अभियान चलाइएकाे थियाे । जसमा काभ्रेमा १ लाख ९५ हजार खाेप लगाइएकाे थियाे । याे लक्ष्यकाे ६२ प्रतिशत रहेकाे थियाे भने सिन्धुपाल्चाेकमा १ लाख २५ हजार भेडाबाख्रालाई याे खाेप लगाइएकाे थियाे । जुन लक्ष्यकाे ५० प्रतिशत रहेकाे कार्यालय प्रमुख डा.वाग्लेले जानकारी दिनुभयाे । एक हप्तामा सबै खाेप लगाउन नसकिएकाे र अहिले पनि खाेप लगाउने क्रम जारी रहेकाे पनि उहाँले बताउनुभयाे ।
तथ्यांक अनुसार काभ्रेमा खाेप लगाउनु पर्ने पशुकाे संख्या ३ लाख १५ हजार ५१ रहेकाेमा खाेपकाे उपलब्धता २ लाख ५९ हजार ९३७ र सिन्धुपाल्चाेकमा २ लाख ३५ हजार ९८७ पशु रहेकाेमा २ लाख ४५ हजार ३१४ खाेप उपलब्ध गराइएकाे छ । कार्यक्रममा स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्रका डा. धनराज रतलाले पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि जोनिङ्ग तथा कम्पार्टमेन्टलाईजेशनका सम्भावना र अवसरहरुका बारेमा जानकारी दिनुभयाे । उहाँका अनुसार याे राेग खाेपबाट मात्र नियन्त्रण सम्भव छैन । यसका लागि किसानले पनि सचेत हुनुपर्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले कार्यालयले सिमित कर्मचारीका बाबजुत उल्लेख्य काम गरेकाे पाइएकाले आगामी दिनमा झन राम्राे काम गर्नका लागि शुभकामना दिनुभयाे । बेलाबेलामा पशुहरुमा आउने महामारी नियन्त्रणमा कार्यालयले बेलैमा साेच्न र यसका कार्यक्रमहरु संचालन गर्न सके महामारीजन्य राेगबाट पशुमा हुने क्षति कम गर्न सकिने उहाँकाे भनाइ थियाे । यस्तै अन्य सहभागीहरुले पनि पशु सेवा कार्यालयका कामका बारेमा जिज्ञासा राख्दै सुझाव र सल्लाह दिएका थिए । सरकारले सन् २०३० भित्र नेपालबाट पिपिआर, खोरेत लगायतका विभिन्न रोगहरु उन्मुलन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको कार्यक्रममा जानकारी दिइएकाे थियाे ।
आजकाे कार्यक्रममा काभ्रे र सिन्धुपाल्चाेकका २५ पालिकाका प्रतिनिधिहरु, किसान, पत्रकार तथा सम्बन्धित विज्ञहरुकाे सहभागिता रहेकाे थियाे ।