जनक बुढाथोकीका आठ मुक्तक


मेचीकाली


-जनक बुढाथोकी

१)

यसै ठिक छ थप दुखाउन चाहन्न

तिमीलाई अप्ठेरो बनाउन चाहन्न

बित्न त दिनरात तिम्रै यादमा बित्छ, 

म बताएर तिमीलाई सताउन चाहन्न।

२)

रंगिन हुन नसकेको, खुसियाली छाउन नसकेको

टाढै बसेको कहिल्यै नजिक आउन नसकेको

सोच्छु तिम्रो मनमा बस्ने मान्छे कस्तो होला,

म एक हुँ तिम्रो नजरमा पनि अटाउन नसकेको।

३)

किन यो मायालाई बुझेकी छैनौ

आँखाले बोलेको पनि देखेकी छैनौ

अब त थोरै वास्ता गरिदेउ न सानी,

बेवास्ता गर्दागर्दै अझै थाकेकी छैनौ!

४)

आफ्नै हो भन्ने सोचेनन आफ्नै मान्छेले

बेस्सरी दुखाए मेरो मन आफ्नै मान्छेले

म रुँदा आँसु पुछेको जस्तो अभिनय गरेर,

थुप्रै फाइदा उठाएका छन आफ्नै मान्छेले!

५)

हात दिइ औला समाई कसैले  रोज्दैन

तन  मन  खुशी  बनाई  कसैले  रोज्दैन

एउटा छोरो घर रोज्छ, अर्को खेत रोज्छ,

तर ती बुढा बा आमालाई कसैले रोज्दैन ।

६)

राम्रा पक्षहरु छुट्याउन लागिरह्यौ

सायद केहि राम्रै पाउन लागिरह्यौ 

आफू गलत भएको कहिल्यै देखेनौ,

सधै अरुलाई ठिक बनाउन लागिरह्यौ।

७)

छुट्टिएर टाढा हुन सकिन्न बुझ न 

फलाम चुम्बकसंग टाढिन्न बुझ न 

प्रेम गर्छु भनी सावित कसरी गरुँ?

जस्तै हावा हुन्छ तर देखिन्न बुझ न।

८)

कसरी भन्नु मलाई चिनेको छैन मेरो छिमेकीले

नबुझेको हैन फेरि नजानेको हैन मेरो छिमेकीले

मेरो पत्नीलाई सुन लगाएको औंलाले इशारा गर्छ,

किन यत्ती समस्या पनि बुझ्दैन मेरो छिमेकीले ।


-सानिभेरी गाउँपालिका ८ रुकुम पश्चिम (हाल दैलेख)


प्रतिक्रिया



थप समाचारहरु