जिल्लाका ७४ माविमा पुग्यो अनेरास्ववियु, खबरदारीमा निरन्तर अग्रमोर्चामा


मेचीकाली

काभ्रे–नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जिल्लाका ७४ वटा माविमा आफ्नो संगठन विस्तार गरेको छ । 

विकृति र विसंगतिविरुद्ध निरन्तर खबरदारी र रचनात्मक कार्यसँगै संगठन विस्तारलाई तीब्रता दिएको अनेरास्ववियुले १३ मध्ये १० वटा पालिकाका ७४ वटा विद्यालयमा संगठन विस्तार गरेको हो । अनेरास्ववियु काभ्रेका प्रचार विभाग प्रमुख प्रविण पौडेलका अनुसार बनेपाका १३ वटा, धुलिखेलका १२ वटा, पनौतीका ४ वटा र पाँचखालका ४ वटा माविमा संगठन विस्तार भएको छ । यस्तै मण्डनदेउपुरका ३, भुम्लुका १०, तेमालका १० बेथानचोकका ८, रोशीका ७ र नमोबुद्ध नगरपालिकाका ३ वटा माविमा संगठन विस्तार भइसकेको छ । बाँकी पालिका र विद्यालयमा पनि संगठन विस्तार जारी रहने पौडेलले बताए ।

पछिल्लोपटक पुस २४ गते भुम्लु गाउँपालिकाका १० वटा र मण्डन देउपुरको एउटा माविमा संगठन निर्माण गरिएको छ । सेतिदेवि मा वि –सापिङ, भुम्लु –१, वनदेवि मा वि –बेखसिम्ले, भुम्लु  – ३, सेतिदेवि मा वि –चोबास –भुम्लु –४, सेतिदेवि मा वि – सल्ले  –भुम्लु –५, वागदेवि मा वि –मुलाबारि –भुम्लु –६, जनता मा वि –कोलाति –भुम्लु –६, शारदा मा वि –फलाटे–  भुम्लु–७, प्रकाश  मा वि  –भुम्लुटार –भुम्लु–८, दुलालेश्वर मा वि –दोलालघाट –भुम्लु –१० र महाकाली मावि मण्डनदेउपुर ४ मा संगठन विस्तार भएको छ । 

अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्ला कमिटि अध्यक्ष मिलन कुमार गौतम, उपाध्यक्ष आदर्श न्यौपाने,  उपाध्यक्ष दिपेश तिमल्सिना, सचिव विमला तिमल्सिना, कोषाध्यक्ष सौगात अधिकारी, प्रचार विभाग प्रमुख प्रविण पौडेल, संगठन विभाग प्रमुख  सुजन सापकोटा, महिला विभाग प्रमुख प्रजिता ढुङ्गाना, सदस्य  आभास चौलागाई, सन्तोष बस्नेत लगायतको उपस्थितिमा ती विद्यालयमा कमिटी गठन भएको हो ।

खबरदारीमा निरन्तर, अन्य रचनात्मक गतिविधिमा पनि अगाडि

संगठन विस्तारमात्रै नभई अनेरास्ववियु काभ्रेले विकृति विसंतिविरुद्ध तथा विद्यार्थीहरुको हकहितका लागि निरन्तर खबरदारी अभियान पनि सञ्चालन गरिरहेको अध्यक्ष मिलनकुमार गौतमले बताए । ३० औं जिल्ला कमिटी निर्वाचन भएपछि एनसेलको कर छली विरुद्ध बनेपाको एनसेल सेन्टर अगाडि चरुहोम कार्यक्रम गरेर खबरदारी गरेको अनेरास्ववियुले नागरिकता विधेयकविरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाउनेसहित प्रदर्शनका कार्यक्रम गरेको छ । यस्तै सिन्धुपाल्चोकमा भएको रहस्यमय दुर्घटनामा अनेरास्ववियु सिन्धुपाल्चोकका नेता नविन पाण्डे र समिर दोङको निधनको घटनामा अरनिको राजमार्गअन्तर्गत धुलिखेलमा प्रदर्शन र आन्दोलन गरिएको थियो । सो क्रममा प्रहरीले अनेरास्ववियुका नेताहरुलाई नियन्त्रणमा समेत लिएको थियो । 

यस्तै अनेरास्ववियु काभ्रेले जिल्लास्तरीय निवन्ध प्रतियोगिता, एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, रक्तदान कार्यक्रम, 'म प्रधानमन्त्री भएँ भने' भन्ने विषयमा टिकटक प्रतियोगिता, मदन भण्डारीको जन्यजयन्तीको अवसरमा माल्यार्पणका साथै साताव्यापी रचनात्मक कार्यक्रम पनि गरिएको छ । जिल्ला कमिटीका साथै स्थानीयस्तरमा गठन भएका कमिटीहरुले फुटसल, वक्तृत्वकला, हाजिरीजवाफ लगायतका रचनात्मक कार्यक्रमहरु आयोजना गरिरहेको अध्यक्ष गौतमले बताए । 

यस्तै हरेक विद्यालय क्याम्पसमा 'गुणस्तरीय निःशुल्क शिक्षा आज आवश्यकता' भन्ने शीर्षकमा बहस पैरवी संचालन गरिएको, मौलिक हक र कानुनी हक सम्बन्ीध सचेतना कार्यक्रम सहित कमिटि निर्माण अघि बढाइएको प्रचार विभाग प्रमुख पौडेलले बताए ।  यस्तै जिल्ला भरिका सम्पूर्ण माध्यमिक तहले संविधान प्रदत्त   निशुल्क शिक्षा प्रदान नगरेको पाएपश्चात् १३ वटै पालिकामा निःशुल्क शिक्षा प्रदान गराउनका निम्ति ध्यानाकर्षण र ज्ञापनपत्र पनि बुझाइएको छ ।यसका साथै केही विद्यालयमा शिक्षकबाट विदार्थीमाथि भएका यौन हिंसा र दुर्व्यवहारविरुद्ध उभिएको अनेरास्ववियुले दोषीमाथि कार्बाहीका लागि निरन्तर दबाब अभियानसमेत सञ्चालन गरिरहेको छ । 

तस्वीरमा अनेरास्ववियु काभ्रेका गतिविधि 

प्रतिक्रिया



थप समाचारहरु