धुलिखेल- ११ मा भीषण आगलागी, ९ लाख रुपैयाँ बराबरको क्षति


मेचीकाली

धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिका ११ मा आज बिहान भएको आगलागीबाट परी ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धितालको घरमा बिहान ३ बजेर ५० मिनेटमा आगलागी सुरु भएको थियो । 

प्रहरी, स्थानीयबासी र धुलिखेल नगरपालिकाको दमकलको मद्दतमा ३ घण्टापछि बिहान ६ बजेर ५० मिनेट जाँदा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगलागी कसरी सुरु भयो, कारण खुलेको छैन । आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पिठो पिस्ने मेसिन थान, हाते टेक्टर, भुसा काट्ने मेसिन सहित ७० मुरी मकै, ३÷३ मुरी गहुँ तोरी लगायतका खाद्यान्नसहित ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु