कृषिमा नयाँ प्रविधि, सेन्सरजडित मेसिनले गर्नेछ सिञ्चाई


मेचीकाली

काभ्रे–पछिल्लो समय काभ्रेमा कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रन थालेको छ  । सोही क्रममा कृषिमा प्रयोग भएका प्रविधिको प्रर्दशनमार्फत किसानलाई प्रविधितर्फ आकर्षित गरी कृषि तथा सिञ्चाईमा लाग्ने लागत न्यूनिकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कृषिमा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिञ्चाई (अटोफर्टिगेशन) कार्यक्रम अघि बढाइएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले पाइलट प्रोजेक्ट (नमूना कार्यक्रम) को रुपमा जिल्लाको पनौती नगरपालिका–१० मा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिञ्चाई कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यालयले चालु आर्थिक वर्षको प्रविधि प्रदर्शन कार्यक्रम अन्र्तगत पनौती नगरपालिका–१० स्थित जय जवान जय कृषि फर्ममा यो प्रविधि प्रयोग गरेको हो । कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले प्रविधिको प्रर्दशनमार्फत किसानलाई प्रविधिमा आकर्षित गर्न कार्यालयले यस्तो कार्यक्रम अघि सारेको बताए । “चालु आर्थिक वर्षका लागि कार्यालयले दुई वटा कार्यक्रमको परिकल्पना गरेकोमा एउटा प्रयोगमा ल्याएका छौँ, यसको प्रभावकारिताको अवस्था विश्लेषणपछि यो प्रविधि पाँचखालमा पनि प्रयोगमा गर्ने सोच बनाएका छौँ” दवाडीले भने । उनले जय जवान जय कृषि फर्ममा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिञ्चाई कार्यक्रम अन्र्तगत जडान गरिएको प्रविधिले माटोको तापक्रम, माटोमा उपलब्ध चिस्यानको अवस्था, माटोमा भएको खाद्यतत्वको उपलब्धता देखाउने बताए । दवाडीका अनुसार यो प्रविधिले माटोमा चिस्यानको कम भएपछि स्वचालित रुपमा बालीलाई आवश्यक पर्ने पानी पठाउने काम गर्दछ तथा विरुवालाई चाहिने खाद्यतत्वको समेत अवस्था समेत देखाउने हुँदा किसानलाई बालीको माग अनुसार खाद्यतत्व व्यवस्थापन गर्न सहज हुनेछ । 

पनौतीमा जडान गरिएको उक्त प्रविधिमा यस वर्ष स्वचालित सिञ्चाईको लागि मात्रै परीक्षण गरिएकोले अर्को बालीमा स्वचालित मलखादको समेत प्रयोग गरिने कार्यालयले जनाएको छ ।  उनले देशका अन्य जिल्लाका व्यवसायिक किसानले यो प्रविधि प्रयोग गरेपनि काभ्रेपलाञ्चोकमा भने पहिलो पटक नमूना परीक्षणका लागि अटोफर्टिगेशन प्रविधि प्रयोग गरिएको बताए ।

 कृषि विकास कार्यालयको ९५ हजार रुपियाँ अनुदान र कृषि फर्मको एक लाख गरी कूल एक लाख ९५ हजारको लागत साझेदारीमा उक्त प्रविधि जडान गरिएको कार्यालयले जनाएको छ । कृषि फर्मका सञ्चालक देवकृष्ण मानन्धरले कृषि कार्यालयले उक्त प्रविधिको बारेमा जानकारी गराएपछि आफु उक्त प्रविधि प्रयोग गर्न उत्सुक भएर काक्रो बालीमा परीक्षण गरिएको बताए । “यो प्रविधि जडान गरेपछि घरबाट नै आफ्नो बालीको चिस्यान, खाद्यतत्वको अवस्था र माटोको तापक्रम हेर्न मिल्ने रहेछ” कृषक मानन्धरले बताए । 

उनले यो प्रविधि जडान गरेपछि बालीलाई आवश्यक पर्ने चिस्यानका लागि अटोमेटिक रुपमा पानी पठाउने काम गर्ने गरेको बताए । यो प्रविधिको प्रयोगले बालीमा प्रयोग हुने अनावश्यक सिञ्चाई, मलखाद जोगाउनुको साथै कृषिमा हुने लागत र समयको बचत गरी उत्पादकत्व बृद्धिमा सहयोग पुग्ने कार्यालयका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए ।


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम