काभ्रेमा करिब ७० हजार घरपरिवार कृषि पेशामा आवद्ध


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लामा करिब सत्तरी हजार घरधुरीले कृषि पेशा अङ्गालेको पाइएको छ । हालै सार्वजनिक भएको ‘राष्ट्रिय कृषि गणना २०७८’ को तथ्याङ्क अनुसार जिल्लामा कुल घरपरिवार मध्ये ७६ दशमलव ५ प्रतिशत अर्थात् ६९ हजार ९४१ घरपरिवार कृषि पेशामा आवद्ध रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लामा कुल घर परिवारको सङ्ख्या ९१ हजार ४२८ घरधुरी रहेको छ । तथ्याङ्क अनुसार जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये पनौती नगरपालिकामा सबैभन्दा धेरै नागरिक कृषि पेशामा संलग्न रहेको देखाएको छ । तथ्याङ्क अनुसार पनौती नगरपालिकामा नौ हजार ३८३ घरपरिवार कृषि पेशामा संलग्न रहेका छन् । त्यसैगरि पाँचखाल नगरपालिकामा सात हजार ८४६ घरपरिवार, मण्डनदेउपुर नगरपालिकामा सात हजार ५५३ घरपरिवार, नमोबुद्ध नगरपालिकामा छ हजार २९७ घरपरिवार, बनेपा नगरपालिकामा छ हजार ४०२ घरपरिवार, रोशी गाउँपालिकामा पाँच हजार ६३० घरपरिवार कृषि पेशामा आवद्ध रहेका छन् । त्यस्तै जिल्लाको धुलिखेल नगरपालिकाभित्र पाँच हजार २९१ घरपरिवार, चौरीदेउराली गाउँपालिकामा चार हजार १३० घरपरिवार, भुम्लु गाउँपालिकामा चार हजार ६४ घरपरिवार, तेमाल गाउँपालिकामा चार हजार ६९६ घरपरिवार, बेथानचोक गाउँपालिकामा तीन हजार ४८३ घरपरिवार, महाभारत गाउँपालिकामा तीन हजार १५२ घरपरिवार र जिल्लाको खानीखोला गाउँपालिकामा दुई हजार ३१५ घरपरिवार प्रत्यक्ष रुपमा कृषि पेशामा आवद्ध रहेको तथ्याङ्कले देखाएको छ । 

तथ्याङ्क अनुसार कृषि पेशामा आवद्ध रहेका कुल घरपरिवारमध्ये पशु चौपाया पाल्ने घरपरिवारको सङ्ख्या ५८ हजार १९६ रहेको छ । जिल्लामा कृषि पेशामा आवद्ध रहेका घरपरिवारहरुमा  २५ हजार ८०४ वटा गाई, ५४ हजार ५१६ वटा गोरु, २७ हजार ७२२ वटा राँगा, ५८ हजार ५०५ वटा भैँसी, ४८ हजार ६४४ वटा च्याङ्ग्रा, तीन लाख १५ हजार ९६ वटा बाख्रा पालेका छन् । त्यस्तै जिल्लामा ४०६ वटा भेडा÷भेडी, दुई हजार ३४३ वटा सुङ्गुर, आठ हजार ४०३ वटा बङ्गुर, ३५८ वटा अन्य पशु, ११ लाख ८१ हजार १३१ वटा कुखुरा र दुई हजार ९४८ अन्य पंछीहरु पालिएको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा कृषि पेशामा संलग्न रहेको घरपरिवारहरुले ३५ हजार ३५७ दशमलव ७ हेक्टर जमिनमा खेतिपाति (कृषि चलन) गरेका छन् भने ६९ हजार ७१६ घरपरिवारसँग २६ हजार ६८३ दशमलव ८ हेक्टर खेतियोग्य जमिन रहेको छ । 

कृषि पेशामा आवद्ध घरपरिवारमध्ये ६९ हजार ७०४ घरपरिवारले २४ हजार ९७० दशमलव १ हेक्टर जमिनमा अस्थायी बाली, १८ हजार ७४० घरपरिवारले दुई हजार ४७७ दशमलव २ हेक्टर जमिनमा स्थायी बाली लगाएका छन् । यसैगरि कृषि पेशामा आवद्ध घरपरिवारहरुले एक लाख ९५ हजार १९३ कित्तामा खेति गर्दै आएकोमा सात हजार ७१४ दशमलव १ हेक्टर जमिनमा सिञ्चाईको सुविधा रहेको तथ्याङ्कले देखाएको छ । 



प्रतिक्रिया



थप समाचारहरु