काभ्रे– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक निर्माण चाँडै अघ बढ्ने भएको छ । निर्माण व्यवसायीसँगको ठेक्का तोडिएपछि अन्यौलमा रहेको अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक विस्तार गर्ने काममा नयाँ ठेक्का मार्फत काम गर्नका लागि बाटो खुलेको छ । निर्माण व्यवसायीसँगको ठेक्का तोडिएपछि सडक डिभिजन भक्तपुरले सडक विस्तारको लागि अर्थ मन्त्रालयसँग सहमति माग गरेको थियो ।
अर्थ मन्त्रालयले दुई साताअघि राजमार्ग विस्तारको लागि सहमति दिएसँगै नयाँ ठेक्काबाट सडकल विस्तारको काम गर्न बाटो खुलेको सडक डिभिजन भक्तपुरले जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले अर्थ मन्त्रालयबाट सहमती आएसँगै खरिद गुरुयोजना स्वीकृतीका लागि मन्त्रालयमा फायल पेश गरेको बताउनुभयो । उहाँले मन्त्रालयबाट खरिद गुरुयोजना स्वीकृत भएर आएपछि स्टिमेट पेश गर्नुको साथै तुरुन्तै नयाँ ठेक्का आह्वान गरिने बताउनुभयो । “असार महिनाभित्र नयाँ ठेक्का आह्वान हुनेछ, नयाँ निर्माण व्यवसायीबाट राजमार्गको काम गराउन सक्ने अवस्था नभएकोले ठेक्का अघि तत्कालका लागि वर्षायाममा हुन सक्ने राजमार्ग अवरोध लगायतलाई तुरुन्त सुचारु गर्नका लागि डिभिजन आफैले काम गर्नेछ”योगेशले भन्नुभयो । उहाँले असार महिनाभित्र ठेक्का आह्वान हुन सकेको खण्डमा भदौको अन्त्यसम्म सम्झौता हुन सक्ने अवस्था भएकोले भदौपछि मात्रै नयाँ निर्माण व्यवसायी मोविलाइज हुने अवस्था रहेको बताउनुभयो । उहाँले नयाँ निर्माण व्यवसायीले काम सुरु नगरेसम्म राजमार्ग सुचारु र यातायात सहज बनाउनका लागि विभागले ग्राझेलसहित ग्रेडर, रोलर, ट्याङकर राखेर सडकको सतह मिलाई यातायात सहज बनाउने बताउनुभयो ।
“विभागले अहिले सतह सुधारको काम गरिरहेको छ, ठेक्का लागेर निर्माण व्यवसायी नआएसम्मका लागि विभागले नै काम गर्नेछ, वर्षायाममा पहिरो जान सक्ने प्रशासन कार्यालय, समन्वय कार्यालय, धुलिखेल क्याम्पसको पछाडिको भागमा जुटनेटिङ र प्लाष्टिक राखेर पहिलोको जोखिमलाई कम गर्ने काम गरेका छौँ, आवश्यक अन्य स्थानमा पनि जुट नेट र प्लाष्टिक राख्नेछौँ” सिडिई योगेशले थप्नुभयो । उहाँले वर्षा भएर पहिरो गएर राजमार्ग बन्द हुने अवस्था आएको खण्डमा विभागले राखेका उपकरणहरु तुरुन्त प्रयोग गरेर छिटोभन्दा छिटो राजमार्ग सुचारु गरिने बताउनुभयो । उहाँले हालसम्म धुलिखेलतर्फबाट दुई किलोमिटर सडकको सतह मिलाउने काम भएकोले बाँकी दुई किलोमिटरको सतह मिलाउने काम एक साताभित्र सकिने बताउँदै सडक बिग्रिए लगत्तै सडकको सतह मिलाई यातायात सञ्चालनमा सहजता ल्याउने बताउनुभयो । सिडिई योगेशले अर्थबाट ४२ करोड ९० लाखको सहमति आएकोले सोही बराबरको स्टिमेट तयार गरिएको बताउनुभयो । सडक डिभिजन भक्तपुरले सडक विस्तारको लागि एक वर्षको मात्रै ठेक्का निकाल्ने तयारी गरेको जनाएको छ ।
“सडक विस्तारको लागि अधिकाँश स्थानमा सडक कटिङको काम सकिएको छ, कटिङ गर्न बाँकी रहेको स्थानमा ड्रेन राख्नको लागि मात्रै कटिङग गरिनेछ, हामीले सतहको काम सुरुको चार महिनाभित्र सक्ने बताउँदै फागुनसम्म कालोपत्रेको काम सक्ने र बाँकी काम पछि गर्ने गरी ठेक्का निकाल्नेछौँ” सिडिई योगेशले भन्नुभयो । उहाँले धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको बन्ने बताउँदै अब ठेक्का सम्झौता हुँदा हाल सूर्यविनायक–धुलिखेल सडक आयोजनाको समापन सिमाबाटै सडक विस्तार गर्ने गरी ठेक्का आह्वान गरिने बताउनुभयो । यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि–खावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक÷पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपडि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।