काभ्रे–गएरातीको बर्षाका कारण विपी राजमार्ग फेरि अवरुद्ध भएको छ । गएराती काभ्रेका अधिकांश ठाउँमा ठूलो वर्षा भएको थियो । वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सनहरु बगाएपछि राजमार्ग पुनः अवरुद्ध बनेको हो ।
शनिबारको वर्षाका कारण झण्डै ४८ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । सोमबार दिउँसो डाइभर्सन बनाएर सुचारु भएको राजमार्ग मंगलबार राती फेरि अवरुद्ध बनेको हो । रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ ।
२०८१ असोज दोस्रो साता आएको बाढीले सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग पूर्ण रुपमा क्षति भएपछि नागरिकहरु सामान्य वर्षामा पनि सास्ती व्यहोर्न बाध्य भएका छन् । डेढ वर्ष अघि रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसमम २८ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको थियो । बाढीले काभ्रेपलाञ्चोकतर्फ २५ दशमलव ११ किलोमिटर सडकमा क्षति भएको थियो भने अहिले क्षति भएको सडकको काभ्रेतर्फ चार वटा खण्डमा पुननिर्माणको काम भैरहेको छ ।
साविकको स्थानबाट सवारी सञ्चालन नुहने अवस्था भएपछि तत्कालका लागि रोसी खोलाको किनारमा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । सामान्य वर्षा भएपछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउने र खोलाको सतह घटेपछि पुनः डाइभर्सन बनाएर यातायात सुचारु गरिँदै आएको छ ।