हिजोदेखि अवरुद्ध भएको विपी राजमार्गको चौकीडाँडा नेपालथोक खण्ड अझै सुचारु हुन सकेको छैन । हिजो दिउँसो ४ बजेदेखि विपी राजमार्ग वन्द रहेको छ ।
२४ घण्टा भन्दा बढी समयदेखि अवरुद्ध राजमार्ग खुलाउन दिनभर गरिएको प्रयासमा वर्षा वाधक बनेको छ । बिहानदेखि राजमार्गको ट्रयाक बगाएको ठाउँमा डाइभर्सन बनाउने प्रयास चलिरहे पनि दिउँसोको वर्षाले उक्त प्रयास निरर्थक बनेको छ । वि.सं. २०८१ असोज दोस्रो साता आएको बाढीले सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग पूर्ण रुपमा क्षति भएपछि नागरिकहरु सामान्य वर्षामा पनि सास्ती व्यहोर्न बाध्य भएका छन् ।
वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएका यात्रुको आज दिनभर लगाएर उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले रोसी खोलामा आएको बाढीले विपी राजमार्गको विभिन्न स्थालनको अस्थायी डाइभर्सन बगाएपछि शनिवार साँझदेखि मङ्गलटारमा अलपत्र परेका यात्रुको आईतबार उद्धार गरिएको बताए । राजमार्गमा अलपत्र परेका यात्रुलाई मङ्गलटारबाट झोलुङ्गे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको थियो । मङ्गलटारमा रोकिएका करिब ८० वटा माईक्रोमा रहेका करिब छ सय यात्रुलाई उद्धार गरिएको होो । बाढीका कारण डाइभर्सन बगाएका कारण मङ्गलटारमा रोकिएका सवारी साधनहरु काठमाडौँ र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
डाइर्भसन बगाएर अलपत्र परेका सवारी साधनहरुलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक बिष्टले वर्षा कम भएसँगै बाढीले बगाएको डाइभर्सन बनाउने काम तिव्र रुपमा अघि बढेको बताउनुभयो । सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेले बाढीले चौकीडाँडाँ, घुमाउने, चारसयबेशी, गिम्दी, नार्के, चिउरीबास, कालढुङ्गासहित काभ्रेपलाञ्चोक खण्डका धेरै स्थानमा डाइभर्सन सडक बगाएको जानकारी दिए । उनका अनुसार बाढीले राजमार्ग अन्र्तगत घुमाउने, चारसयबेशीमा धेरै क्षति गरेको पुगेको छ ।
डेढ वर्ष अघि रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसमम २८ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको थियो । बाढीले काभ्रेपलाञ्चोकतर्फ २५ दशमलव ११ किलोमिटर सडकमा क्षति भएको थियो भने अहिले क्षति भएको सडकको काभ्रेतर्फ चार वटा खण्डमा पुननिर्माणको काम भैरहेको छ । साविकको स्थानबाट सवारी सञ्चालन नुहने अवस्था भएपछि तत्कालका लागि रोसी खोलाको किनारमा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । सामान्य वर्षा भएपछि रोसी खोलामा आएको बाढीले डाइभर्सन बगाउने र खोलाको सतह घटेपछि पुनः डाइभर्सन बनाएर यातायात सुचारु गरिँदै आएको छ ।