काभ्रे–सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराई तथा पहाडी जिल्लासँग जोड्ने विपी राजमार्गको अस्थायी डाइभर्सन बगाउँदा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । २०८१ असोज १०–१२ को बाढीले विपी राजमार्गको भकुण्डे (१ नम्बर पुल) देखि नेपालथोकसम्मको सडकमा क्षति पुगेपछि सामान्य वर्षामा समेत नागरिकहरुले यात्रा गर्दा सास्ती खेप्नु परेको हो ।
बाढीले क्षति गरेको राजमार्ग पुननिर्माणको काम भैरहँदा गत वर्ष बैशाखदेखि हालसम्मको एक वर्षको अवधिमा वर्षाको कारण एक दजर्न पटक राजमार्ग अबरुद्ध भएको छ भने जिल्ला सुरक्षा समितिको बैठक बसेर चार पटक राजमार्ग बन्द गराइएको छ । रोसी खोलाको माथिल्लो क्षेत्र बनेपा, पनौती, धुलिखेल, बेथानचोलगायतका स्थानमा वर्षा हुँदा राजमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अबरुद्ध हुने गरेको छ । साथै स्थानीय प्रशासनले समेत राजमार्गमा यात्रा गर्ने सवारी साधन र यात्रुमा हुने जोखिम कम गर्नका लागि स्थानीय प्रशासनले राजमार्ग बन्द गर्ने गरेको छ । जिल्लास्थित सुरक्षा निकायको तथ्याङ्क अनुसार गत वर्ष बैशाख ५ गतेदेखि ६ गतेसम्म एक दिन, बैशाख १२ देखि १४ गतेसम्म डेढ दिन, साउन ४ गते करिब डेढ घण्टा, भदौ १२ गते करिब १२ घण्टा सडक पूर्ण रुपमा बन्द रहेको थियो । यस्तै जिल्ला सुरक्षा समितिको बैठकले गत वर्ष असार ६ गतेदेखि भदौ मसान्तसम्म, असोज महिनाको १६ गतेदेखि १८ गतेसम्म रातको समयमा यातायात बन्द गरेको हो ।
यस्तैगरी चैत महिनाको ७ गते चार घण्टा, १३ गतेदेखि १४ गतेसम्म एक दिन, चैत १५ गते चार घण्टा राजमार्ग पूर्ण रुपमा बन्द गरिएको थियो । बैशाख महिनामा १२ गते ३ः२५ बजेबाट १४ गते दिउँसो ४,१५ बजेसम्म र सोमबार राती १० बजेबाट मङ्गलबार बिहान ११ः४५ बजेसम्म र मङ्गलबार राती ९ बजेदेखि बुधबार बिहान ११ बजेसम्म राजमार्ग पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तै आज बिहान बन्द भएको राजमार्ग दिउँसो केहीबेर खुल्यो भने दिउँसो बनेपा, पनौती लगायतका क्षेत्रमा भारी वर्षा भएपछि फेरि वन्द भएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पुननिर्माण भैरहेको विपी राजमार्गमा हाल रोसी खोलाको किनारबाट डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकोले बनेपालगायतको क्षेत्रमा वर्षा हुने बित्तिकै राजमार्गमा सवारी आवागमनमा रोक लगाउने गरिएको बताउनुभयो । उहाँले वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्नका लागि सुरक्षा समितिको बैठकले रातको समयमा समेत राजमार्ग बन्द गर्ने गरेको बताउनुभयो । पछिल्लो समय बनेपा आसपासको क्षेत्रमा वर्षा सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले राजमार्गमा हुन सक्ने क्षति कम गर्नका लागि राजमार्ग बन्द गराउँदै आएको छ ।
बाढीले क्षति गरेको विपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ १ नम्बर पुल, चौकीडाँडा, गिम्दीबेशी, चारसय बेशी, कालढुङ्गा, घुमाउने, बोक्सीकुनासम्मको २५.११ किलोमिटर सडक क्षति गरेको थियो भने सिन्धुलीतर्फ नेपालथोकदेखि काभ्रेपलाञ्चोकको सिमानासम्मको करिब चार किलोमिटर सडकमा क्षति पुगेको थियो । बनेपालगायतको आसपासको क्षेत्रमा वर्षा भएसँगै रोसी खोलामा पानीको बहाव बढ्दा चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएको अस्थायी डाइभर्सन सडक बगाउँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । बाढीले क्षतिग्रस्त विपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुननिर्माणको काम भैरहेको छ । राजमार्ग पुननिर्माणको काम भैरहेकोले तत्कालका लागि रोसी खोला किनारमा अस्थायी डाइभर्सन सडक निर्माण सञ्चालन गर्दै आएकोले सामान्य वर्षामा समेत डाइभर्सन बगाएर यातायात अबरुद्ध हुँदै आएको छ । विपी राजमार्गको बैकल्पिक सडक नहुँदा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु राजमार्गमा नै फस्ने गरेका छन् ।