काभ्रे–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काभ्रे क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचित बदनकुमार भण्डारीले कानुनविपरित हुने कुनै पनि काममा भनसुन गराउनका लागि आफूलाई नसम्झन आग्रह गरेका छन् ।
निर्वाचित भएको भोलीपल्ट आज २४ वटा वुँदामा उनले आफूले नगर्ने कामको सूची सार्वजनिक गरेका छन् । उनले बिहे, ब्रतवन्ध लगायतका भोजभतेरमा आफूलाई नबोलाउन आग्रह गर्दै भ्याएसम्म आउने पनि उल्लेख गरेका छन् । उनले कुनै पनि निकायमा नियुक्तिका लागि, छात्रवृत्तिका लागि भनिदिन आफूलाई कर नगर्न पनि आग्रह गरेका छन् ।
आफूलाई कुनै ठेक्कापट्टा दिलाउनका लागि भनिदिन, आफू र आफ्नो परिवारलाई प्रलोभनमा पारेर जागिरका लागि भनिदिन भन्दै आग्रह नगर्न पनि उनले भनेका छन् ।
भण्डारी नेपाली कांग्रेसका मधुप्रसा आचार्यलाई भारी मतान्तरले पराजित गर्दै काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तो छ बदनले नगर्ने कामको सूची
१. मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला ।
म गर्दिनँ ।
३. ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट बच्न सोर्स फोर्स लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
४. लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी तस्करी जस्ता कुनै पनि केसमा भनसुन वा त्यस्तै, कुनै पनि प्रकारको जरिवाना वा कानुनी कारबाहीबाट बचाइदिन पनि नभन्नु होला ।
म मान्दिनँ ।
५. महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिंसा वा ज्यादतीको केस थामथुम पार्न सहयोग नमाग्नु होला ।
म उल्टै खनिन्छु ।
६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी केस मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला ।
यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।
८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्रलोभनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।
म गर्दिनँ ।
९. सरकारी सेवा छिटो गराइदिन दबाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला ।
म गर्दिनँ ।
१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला ।
विकासको वितरण समानुपातिक ,योजनाबद्ध र समतामूलक हुनुपर्छ।
१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, दबाब दिन वा बदला लिन सहयोग नमाग्नु होला ।
म त्यस्तो राजनीतिमा छैन ।
१३. “मैले तपाईंलाई भोट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा अनिवार्य आउनु पर्छ नभन्नु होला । म समय मिले सम्म आउने छु ।
अन्य दुःखमा समय मिलाएर आफैँ आउँछु, बोलाउन पर्दैन ।
१४. सरकारी वा विकास योजनाको बजेट कमिसन लिएर बाँडफाँड गर्न, योजना टुक्र्याएर आफ्ना मान्छेलाई फाइदा पुग्ने गरी मिलाइदिन नभन्नु होला।
म यस्तो काम गर्दिनँ।
१५. कुनै सरकारी कर्मचारीलाई व्यक्तिगत कामका लागि दबाब दिन, सरुवा गराइदिन वा काम रोक्न लगाइदिन नभन्नु होला।
म हस्तक्षेप गर्दिनँ।
१६. सार्वजनिक जग्गा, वन, नदी, खोल्सा वा सामुदायिक सम्पत्ति कब्जा गर्न सहयोग नमाग्नु होला।
म त्यस्तो अन्यायको पक्षमा उभिन्नँ।
१७. नक्कली कागजात, झुटा सिफारिस, गलत प्रमाणपत्र बनाउन वा बनाइदिन सहयोग नमाग्नु होला।
म त्यस्तो काम मान्दिनँ।
१८. कुनै पनि सरकारी ठेक्का, अनुदान वा परियोजनामा दल, नातागोता वा चिनजानको आधारमा प्राथमिकता दिन नभनिदिनु होला।
म योग्यता र नियम मात्र हेर्छु।
१९. राजनीतिक प्रभाव प्रयोग गरेर कसैलाई डर धम्की दिन, मुद्दा दबाउन वा विरोधीलाई सताउन सहयोग नमाग्नु होला।
म लोकतान्त्रिक मूल्य मान्छु।
२०. सामाजिक सञ्जालमा झुटा प्रचार, चरित्र हत्या वा द्वेष फैलाउने अभियान चलाउन आग्रह नगर्नु होला।
म त्यस्तो राजनीतिमा विश्वास गर्दिनँ।
२१. कुनै पनि सार्वजनिक कार्यक्रममा अनावश्यक तडक भडक, महँगो स्वागत वा खर्चिलो कार्यक्रम नगर्नु होला।
म सादगीमा विश्वास गर्छु
२२. पार्टीको नाममा पैसा उठाउन, चन्दा असुल गर्न वा कसैलाई दबाब दिएर सहयोग लिन नभन्नु होला।
म पारदर्शी राजनीतिको पक्षमा छु।
२३. सरकारी पदको प्रभाव प्रयोग गरेर आफ्नो व्यापार, ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नु होला।
म पदलाई निजी स्वार्थका लागि प्रयोग गर्दिनँ।
२४. कुनै पनि जात, धर्म, क्षेत्र वा समुदायविरुद्ध विभाजनकारी राजनीति गर्न आग्रह नगर्नु होला।
म सबै नेपालीलाई बराबर मान्छु।