फूटबलको विकासका लागि ‘बनेपा फुटबल एकेडेमी’ स्थापना


मेचीकाली

बनेपा–जिल्लामा फूटबल खेलको विकासका लागि क्रियाशिल दुईवटा क्लबको सहकार्यमा बनेपामा फूटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फूटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा बनेपा फूटबल एकेडेमी स्थापना गरिएको हो । 

एकेडेमी स्थापनासँगै यसले ७ बर्षदेखि १७ बर्षसम्मका बालबालिकालाई फूटबलको प्रशिक्षणसमेत दिन सुरु गरिसकेको छ । एकेडेमीले अहिले ६० जना बालबालिकालाई बनेपा पोलिटेक्निकको मैदानमा फूटबल प्रशिक्षण दिइरहेको छ । काभ्रे जिल्ला फूटबल संघसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहेका छन् । यस्तै सदस्यहरुमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमति प्रदेश फूटबल संघका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फूटबल संघ काभ्रेका अध्यक्ष विकास नारायण श्रेष्ठ रहेका छन् । एकेडेमीले पत्रकारहरु विनोद न्यौपाने र केशवराज पौडेललाई पत्रकारिता क्षेत्रबाट सदस्यमा मनोनित गरेको छ ।

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिएका छन् । उनका अनुसार अहिले एकेडेमीमा जिल्लाभरका बालबालिकाहरु प्रशिक्षणका लागि सहभागी भएका छन् । एकेडेमीले निकेश नापितलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु