किन बहुप्राविधिक शिक्षालय खाली गराउन लाग्यो बनेपाले ? यी हुन् दसवुँदे कारण


मेचीकाली

काभ्रे बनेपा नगरपालिकाले बनेपा बहुप्राविधिक शिक्षालयबाट नगरपालिकालाई निरन्तर अहियोग भएको बताएको छ । पछिल्लो समय बहुप्राविधिक शिक्षालयको भवन प्रयोगका विषयमा नगरपालिकाको नगरसभाबाटै भएको निर्णयलाई विवादित बनाइएपछि नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरसभाबाट नेपाल बनेपा बहुप्राविधिक शिक्षालयलाई बनेपा नगर कार्यपालिकाको कार्यालय अन्तर्गत लिने सम्बन्धी विशेष प्रस्ताव नगरसभाबाट पारित गर्नुपर्नाका कारणहरू सार्वजनिक गरेको छ । 

नगरपालिकाले बहुप्राविधिक शिक्षालययमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या अत्यन्तै न्यून रहेको साथै सुविधा सम्पन्न भवनहरू पठनपाठनमा भन्दा बढी आवसीय प्रयोजनमा प्रयोग भएको पनि बताएको छ । बनेपा नगरपालिकाको कार्यालय हाल पुलबजारमा रहेको वडा नंवर १० को भवनबाट सञ्चालन भइरहेको छ । उक्त भवन अपर्याप्त भएको र सहजरुपमा सेवा दिन नसकेपछि शिक्षालयको खाली रहेको भवन नगरपालिकाले मागेको थियो । तर, शिक्षालयले नगरपालिकाको आग्रहलाई अटेर गरेपछि गत पुसमा बसेको नगरसभाले बहुप्राविधिक शिक्षालयलाई नगरअन्तर्गत लिने निर्णय गरेको थियो । 

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय सिटिइभिटीअन्तर्गत सञ्चालित छ । शिक्षालयको सम्पूर्ण जमिन बनेपा नगरपालिकाको स्वामित्वमा रहेको छ । नगरपालिकाले यी कारणसहित शिक्षालय नगरपालिकाअन्तर्गत ल्याउनुपर्ने स्पष्ट पारेको छ । 

१) बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित बनेपा नगर कार्यपालिकाको कार्यालय रहेको प्रशासनिक भवन मिति २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएकोले ।

२) आगजनीमा ध्वस्त भएको प्रशासनिक भवनको तत्काल पुनःनिर्माण गरेर पुनः संचालन गर्न सकिने अवस्था नरहेकोले ।

३) बनेपा नगरपालिकासँग तत्काल नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न पर्याप्त आर्थिक स्रोत नभएको तथा नेपाल सरकारले पर्याप्त बजेट विनियोजन गर्न सक्ने अवस्था नरहेकोले ।

४) साविकमा रहेको भवन आगजनी भई आपतकालीन अवस्थामा तत्काल सेवा प्रवाह गर्नुपर्ने परिस्थितिलाई मध्यनजर गरी सबै पक्षले जिम्मेवार भई नगरपालिका जस्तो जनताको घरदैलाको सार्वजनिक निकायलाई सहयोग र सहजीकरण हुनपर्नेमा बनेपा नगरपालिकालाई कुनै पक्षबाट पनि त्यस किसिमको सहयोग र सहजीकरण प्राप्त नभएकोले ।

५) कोभिड–१९ को समयमा बनेपा नगरपालिकालाई सो शिक्षालयले आइसोलेशन सेवा संचालन गर्न एकवटा ब्लक उपलब्ध गराएकोमा सो हाल पनि खाली रहेको भवन (ब्लक) यस विषम परिस्थितिमा बनेपा नगरपालिकालाई केही समयको लागि उपलब्ध गराई तत्काल नगरपालिकाको सेवा संचालनको लागि शिक्षालय प्रशासनसँग सहजीकरणको लागि अनुरोध गर्दा शिक्षालय प्रशासनले भवन उपलब्ध गराउन नसक्ने भनी सार्वजनिक विपदको अवस्थालाई वेवास्ता गरेकोले ।

६) बनेपा नगरपालिकाको स्वामित्वमा रहेको ८०–४–१–३ क्षेत्रफलको जग्गामा निर्मित सुविधासम्पन्न भौतिक संरचनाहरू बनेपा नगरपालिकाले कुनै शर्त नराखी हार्दिकताकासाथ शिक्षालय संचालन गर्न उपलब्ध गराएको तर शिक्षालय प्रशासनले बनेपा नगरपालिकालाई आपद÷विपद परेको अवस्थामा एउटा ब्लक समेत केही समयको लागि उपलब्ध गराउन इन्कार गरी नगरबासीले पाउने नियमित विकासात्मक र आकस्मिक सेवा सुलभ रूपमा एकै स्थानमा अवस्था नरहेकाले।

७) हाल शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या अत्यन्तै न्यून रहेको साथै सुविधा सम्पन्न भवनहरू पठनपाठनमा भन्दा बढी आवसीय प्रयोजनमा प्रयोग भएकोले ।

८) तत्काल अस्थायी रूपमा १० नं. वडा कार्यालय रहेको भवनबाट सेवा प्रवाह गरिँदै आएकोमा वडा कार्यालयको भवन दीर्घकालीन रूपमा प्रयोग गर्न नसकिने तथा सो स्थानमा नगर कार्यपालिकाको कार्यालय संचालन गर्नको लागि पर्याप्त पूर्वाधार र भवन संरचनाहरू नरहेकोले।

९) नगरपालिकाका सबै शाखाहरूलाई एकीकृत रूपमा एकै स्थानबाट संचालन गर्न नसकिएकोले (हाल तीन फरक–फरक वडाहरूबाट शाखाहरू संचालन भइरहेको)।

१०) बनेपा नगरपालिकाले उल्लिखित संस्था स्थापना कालमा लिएका देहाय बमोजिम उद्देश्यहरू सन्तोषजनक रूपमा प्राप्त नभएकोलेः

-बजारको मागमा आधारित आधुनिक प्राविधिक शिक्षा पठनपाठन गर्ने।

-शिक्षालयले शिक्षालयमा नगरबासीलाई रोजगारीका अवसरहरू प्रदान÷सृजना गर्ने।

-बनेपाबासीको जीवनस्तर सुधारमा शिक्षालयले प्रभावकारी भूमिका खेल्ने।

-बनेपाको शैक्षिक, आर्थिक तथा सामाजिक क्षेत्रमा गुणात्मक सुधार हुने।

-बनेपामा आर्थिक गतिविधि चलायमान भई आर्थिक परिसूचकमा गुणात्मक सुधार हुने।

-विश्व बजारको माग बमोजिमको दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने।

-बनेपा बाहेकका स्थानबाट समेत बहुसंख्यक विद्यार्थीहरू शिक्षालयमा अध्ययनका लागि आउने वातावरण सृजना गर्ने।

-शिक्षालयलाई देशकै नमूना शिक्षालयको रूपमा विकास गर्ने।


प्रतिक्रिया



थप समाचारहरु