बासडोल (बनेपा)– नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको संयोजनमा बनेपा–१२ बासडोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बासडोलस्थित बुडा गणेशस्थान महिन्दरबाट सुरु भएको सरसफाई कार्यक्रम देउराली भन्ज्याङमा पुगेर समापन भएको थियो । सो क्रममा विभिन्न ९ वटा स्थानमा चेतनामुलक बोर्ड तथा फोहोर संकलन सामग्री पनि राखिएको थियो ।
कार्यक्रममा सरसफाई कार्यक्रम संयोजक एवं नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखा सभापति मुकुन्द शर्माले भयावहरुपमा प्रयोगमा आइरहेको प्लास्टिक र सिसाजन्य सामग्रीको अनियन्त्रित प्रयोग र जथाभावी फ्याँक्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे । कुहिने वस्तुहरुलाई कम्पोस्ट मलको रुपमा अधिकतम प्रयोग गर्न तथा फोहोरलाई तोकिएको स्थानमा मात्रै संकलन गर्न आग्रह गर्दै उनले जनचेतना जगाउने उद्देश्यले नमुनाको रुपमा सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । अबका दिनमा सबै सचेत भएर तोकिएको स्थानमा मात्र फोहर राख्ने, राखिएको स्थानबाट बनेपा नगरपालिकाको सफाईको गाडी आएर फोहोर लैजाने, फोहोरको समस्या दीर्घकालीन समाधान नहुन्जेल सम्म निरन्तर कार्यक्रम संचालन गरिरहने उनले बताए ।
बनेपा नगरपालिकाबाट फोहोर फोहर उठाउनको लागि हप्ताको १ दिन भएपनि भैसेपाटी देखि बासडोल गणेशस्थानसम्म गाडी व्यवस्थापनका लागि वडा कार्यालयमा निवेदन दिइएको र त्यसको तत्काल संवोधन हुनुपर्ने उनले बताए । कार्यकममा वडा सदस्य नारायण रावल, गणेश भारती माविका प्रधानाध्यापक प्रेम राज शर्मा, विभिन्न सहकारी एवं संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, नेकपा एमाले वडा कमिटी अध्यक्ष वुद्धिनाथ शर्मा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका प्रतिनिधि र रेडक्रसको कार्यसमितिका पदाधिकारी र सदस्यका सागै स्थानीयबासी गरी ५० भन्दा बढीले सहभागिता जनाएको स्थानीय कञ्चन भुजेलले जानकारी दिएका छन् ।