इजरेली राजदूतको बेथानचोक भ्रमण : भ्रममा नपर्न गाउँपालिकाको आह्वान


मेचीकाली

बेथानचोक-नेपाल स्थित इजरालयका राजदूत हनान गोदारले बेथानचोक गाउँपालिकामा गरेको भ्रमणका विषयलाई लिएर सामाजिक सञ्जालमा भएको आरोप प्रत्यरोपको भ्रम चिर्न पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राजदूतको भ्रमण हुँदा गाउँपालिकाले कुनै वास्ता नगरेको, राजदूतलाई अपमान गरेको जस्ता आरोप लगाउँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु भएसँगै राजदूत गोदारको भ्रमणको विषयलाई लिएर गाउँपालिकाले पत्रकार सम्मेलनमार्पत आफ्नो धारणा सार्वजनिक गरेको हो । जारी प्रेस विज्ञप्तिमा गाउँपालिकाले भनेको छ, “नेपालको संविधान २०७२, नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४, नेपाल सरकार कार्य विभाजन नियमावली २०७४, कूटनीतिक आचार संहिता २०६८ अनुरुप नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिहरुको औपचारिक भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयको स्वीकृति अनिवार्य सर्त हो । यसका लागि गाउँपालिकाबाट कुनै औपचारिक इमेल वा पत्राचार भएको छैन् । ”


पत्रकार सम्मेलन मार्फत गाउँपालिकाले राजदूत गोदारको भ्रमणलाई ‘नितान्त व्यक्तिगत र अनौपचारिक’ भनेको छ । पालिकाले कूटनीतिक मर्यादाका विषयलाईसमेत अवगत गराउँदै भ्रमणलाई राजदूत गोदारको ब्यक्तिगत र अनौपचारिक भनेको हो । ’२०८० साल जेठ २९ गते शुक्रबार मित्रराष्ट्र इजरायलका राजदूत हनान गोदारको यस गाउँपालिकाको भ्रमण केबल ’व्यक्तिगत तथा अनौपचारिक’ हो, गाउँपालिकाले भ्रमणलाई कुनै वास्ता नगरेको भन्दै गरिएको प्रचारमा सत्यता छैन् ।’ गाउँपालिकाले जारी विज्ञप्तिमा भनेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीकै निमन्त्रणामा राजदूत गोदारले भ्रमण गर्न लागेको र आवश्यक सुरक्षा ब्यवस्था मिलाउन जारी गरिएको पत्रप्रति समेत पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


गाउँपालिकाद्वारा जारी विज्ञप्तिको पूर्ण पाठः


मितिः २०८०।०३।३१)

विज्ञप्ति

नेपालको मित्र राष्ट्र इजरायलका महामहिम राजदूतको मिति २०८०।०२।२९ गते शुक्रवार (तदनुसार १४ जुलाई २०२३) मा बेथानचोक गाउँपालिकाको भ्रमण सम्पन्न भएको विषयमा गाउँपालिकाका तर्फबाट कुनै सरोकार नराखिएको भनी सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूबाट गरिएको अर्नगल टिका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

मित्रराष्ट्र इजरायलका महामहिम राजदूतहरूले मात्र नभई अन्य राष्ट्रका राजदूतहरूले समेत यसअघि पनि पटक–पटक यस गाउँपालिकामा अनौपचारिक भ्रमण गर्दै आउनुभएको हामीलाई जानकारी छ । मित्रराष्ट्रका महामहिम राजदूतको औपचारिक भ्रमण यस गाउँपालिकामा भईरहोस भन्ने हाम्रो चाहना हो र सोही चाहनाअनुसार यस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृत समेतले महामहिम राजदूतको भ्रमण सहजीकरण गर्न चाहना राख्नुभएको र सो को विशेष पहल गर्नुहुने यसै गाउँपालिकाका स्थानीय व्यक्तित्व कामना शर्मासँग यसअघि नै अनौपचारिक छलफल भएको हो । तर आ.व. ०७९÷०८० को सालतमामको अन्तिम अवस्था यसै समयमा परेको, योजना÷कार्यक्रमको भुक्तानी दिन नसकिएको विशेष परिस्थितिको हामीले सामना गर्नुपर्ने अवस्था आएको, आ.व. ०८०÷०८१ को बजेट सभा गर्नुपर्ने बाध्यकारी अवस्था आएको सबैमा जगजायर नै छ । असार महिनाको तेस्रो हप्तामा आएर नेपाल सरकारको लेखा प्रणाली भ्ँत् मा समस्या आई भुक्तानी गर्न अवरोध हुँदा सो को समाधानका लागि दवाव दिन आर्थिक प्रशासन शाखा प्रमुख सहितको हाम्रो टोली अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, माननीय मन्त्रीज्यू, गाउँपालिका महासंघ समेतमा समस्या समाधानको लागि सहजीकरण गरिदिन अनुरोध गर्न गएको व्यहोरा सबैलाई अवगत भएकै विषय हो । गाउँपालिका प्रतिनिधि मात्र जाँदा समस्या समाधान नहुने देखेर हामीले गाउँपालिका महासंघका अध्यक्ष, महासचिव सहितलाई लिएर महालेखा नियन्त्रक कार्यालय पुगी अन्त्यमा समस्या समाधानमा हाम्रो पहलले सफलता पाएकै हो । वडाअध्यक्षज्यूहरूको बजेट सम्बन्धी पटक–पटकको छलफलले असार २९ गते १३ अ गाउँसभाको दोस्रो बैठक बसी बजेटको प्रस्तुतीकरण, छलफल र सोही दिन बजेट पारित गर्नुपर्ने नेपाल सरकारले तोकेको बाध्यकारी अवस्था र परिस्थिति आएकै हो ।

नेपालको संविधान २०७२, नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४, नेपाल सरकार कार्य विभाजन नियमावली २०७४, कुटनीतिक आचारसंहिता २०६८ अनुरूप नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिहरूको औपचारिक भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयको स्वीकृती अनिवार्य शर्त हो । यस क्रममा विदेशी नियोग तथा नेपाल सरकारका तर्फबाट औपचारिक पत्र आदान–प्रदान हुने, सोको जानकारी परराष्ट्र मन्त्रालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै स्थानीय तहमा हुने व्यवस्था छ ।

हाम्रो सन्दर्भमा सोही दिन २०८० असार २९ गते यस गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष कुवेर ढकालले विहान ८ः३८ बजे म्यासेन्जर मार्फत गाउँपालिका अध्यक्षको निमन्त्रणामा महामहिम राजदूत बेथानचोक गाउँपालिकाको भ्रमण गर्दै हुनुहुन्छ सो भ्रमणको सुरक्षा व्यवस्था मिलाइदिनु हुन भन्ने व्यहोराको इजरायली राजदूतावासबाट गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई बोधार्थ दिएर परराष्ट्र मन्त्रालयलाई लेखिएको पत्र प्राप्त भएको हो । पत्र पढिसकेपछि गाउँपालिका अध्यक्षकै निमन्त्रणामा महामहिम राजदूत बेथानचोक भ्रमण गर्दै हुनुहुन्छ भन्ने देखेपछि हामी अचम्मित भयौँ ।

हामीलाई यस खालको भ्रमणमा के जानकारी छ भने कुटनीतिक मर्यादा पालना नगरी हाम्रो जस्तो स्थानीय तहले सिधै पत्राचार गर्दा यसअघि मुस्ताङको एक गाउँपालिका अध्यक्षले भारतीय दूतावासलाई कुन आधारमा पत्र लेखिएको भनी संघीय संसद मै कुरा उठेको थियो । गाउँपालिकाको अनविज्ञताको कारणले कुटनीतिक नियोगका गतिविधिहरूलाई आफ्नै किसिमले भेट्दा दुई देशबीचको द्विपक्षीय सम्बन्ध कुटनीतिक मर्यादा र स्थानीय तहको अधिकार क्षेत्रको सीमाका बारेमा परराष्ट्र मन्त्रालयले सम्झाएको र सोही व्यहोरा उल्लेख गरी परराष्ट्र मन्त्रालयले विज्ञप्ती समेत जारी गरेको विषय यहाँहरूलाई स्मरण गराउन चाहान्छौं । यस्तै कुटनीतिक मर्यादाका कारण र परिस्थिति मनन गरी हामीले तुरून्त सम्पर्क गरी यस गाउँपालिकाका तर्फबाट औपचारिक रूपमा कुनै निकायमा पत्र नपठाएको, आग्रह नगरेको व्यहोरा जानकारी गराउँदछौँ ।

भगवान अधिकारी

अध्यक्ष


प्रतिक्रिया



थप समाचारहरु