बेथानचोकका ४ विद्यालयमा स्वेटर वितरण


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिका वडा नं. ५ च्यासिङखर्कका चारवटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो  (स्वेटर) वितरण गरिएको छ ।


धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको संयोजन तथा बोधिसत्व बिहार बुढानिलकण्ठको सहयोगमा वडा नं. ५ का आत्मा विकास माध्यमिक विद्यालयका २ सय १७ जना, भिमसिनेश्वर माध्यमिक विद्यालयका १ सय ५ जना, कपेर महांकाल आधारभूत विद्यालयका ५० जना र मिलन प्राविका २६ जना विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।


फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा वडा अध्यक्ष राजकुमार वाइबा, वडा सदस्य बिमला गोले, आत्मा विकास माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो । जाडो मौसम सुरु भएसँगै फाउण्डेशनले उल्लेखित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो बताउँदै अध्यक्ष डा. थोकरले चिसो मौसममा न्यानो कपडाले बालबालिका निरन्तर विद्यालय जाने वातावरण बनाउन साथै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि राहत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँका अनुसार फाउण्डेशनले हालसम्म २५ वटा विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको छ । यस्तै ज्येष्ठ नागरिकका लागि पनि विभिन्न किसिमका सहयोग कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष राजकुमार वाइबाले जाडोयाम सुरु भएसँगै विद्यालयमा जाने विद्यार्थीको संख्या कम हुने र कतिपय विद्यार्थीको जाडोमा लगाउने लुगाको अभाव भएपछि विद्यालय जान समस्या भएकोमा विभिन्न सामाजिक संघ संस्थाको सहयोगले विद्यार्थी विद्यालयसम्म पुग्ने विश्वास लिनुभयो । अहिले पनि विपन्नता कै कारण कतिपय विद्यार्थी खाली खुट्टा विद्यालय आउने गरेको, पिछडिएको बस्ती, आर्थिक विपन्नता भएका परिवारका बालबालिकालाई विद्यालयमा आकर्षित गराउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । 


अध्यक्ष डा. थोकरले आत्मा विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर लामा, भिमसिनेश्वर माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक रधुनाथ दाहाल, कपेर महांकाल आधारभूत विद्यालयका शिक्षक टिकट लामा र मिलन प्राविकी प्रधानाध्यापक मान कुमारी तामाङलाई स्वेटर हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु