बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम


मेचीकाली

ढुंखर्क - बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको छ ।

बेथानचोक  गाउँपालिका  महिला  बालबालिका  तथा  ज्येष्ठ  नागरिक  शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम माघ ३ गते शुरुभइ ९ गते समापन भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर नहोस भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरिएको बताउनु भयो । तालिमले महिला जनप्रतिनिधिहरुमा क्षमता अभिवृद्धि हुँदा आफूद्वारा सम्पादन हुने काममा थप प्रभावकारी सञ्चारको विकास हुन गई जनता र प्रतिनिधिविच विस्वासको वातावरणरमा बढोत्तरी हुने उहाँको भनाइ थियो ।

सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने जाँगर महिला जनप्रतिनिधिको छवी बनेको बताउँदै उहाँले यस प्रकारका तालिम कार्यक्रमले त्यसलाई मजवुत तुल्याउने बताउनु भयोे । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिल्ने र महिला सशक्तीकरण अपुरो हुने भएकाले पालिकाले जनप्रतिनिधिलाई सक्षम र सबल पार्दै पालिकाको सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्य लिएको उहाँको जीकिर थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वय समितिको मुख्य जिम्मेवारी महिलाहरुकै काँधमा रहेकोले महिला सक्षम हुनै पर्ने बताउनु भयो । यतिका धेरै जिम्मेवारी दिइँदा यी कामलाई कसरी अगाडि बढाउने भन्ने ज्ञानको कमी, योग्य जनशक्तिको अभाव र आर्थिक स्रोतसाधनको कमीले काम प्रभावकारी हुन नसक्दा जनताका काम समयमै सम्पादन हुनेमा शंका उत्पन्न हुने भएकोले पनि यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कुनै पनि महिला प्रतिनिधिले वडामा गएर आफूले कुनै पनि निर्णय गर्न नपाएपछि आफ्नो सहभागिता अर्थपूर्ण नभएको महसुस गर्नु नपरोस् भन्दै उहाँले आर्जित सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै गाउँपालिकाका प्रशासन प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौं भन्नेबारेमा सोच्नु जरुरी भएको बताउनु भयो । उहाँले महिला प्रतिनिधिले आफूसामु आएका चुनौतीलाई एउटा अवसरका रूपमा लिनु जरुरी छ । त्यसका लागि यस प्रकारका तालिम सहयोगी हुने बताउनु भयो ।

तालिमका सहभागीहरुलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैंगिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजता आचार्यले बताउनु भयो । यस प्रकारको तालिमका लागि माग भइ आएकोले तालिम प्रदान गरिएको उहाँको भनाई छ । पालिकाले यस अघि महिलाहरुलाई विभिन्न तालिम दिइसको छ ।


प्रतिक्रिया



थप समाचारहरु