पनौतीमा उन्मत्त भैरवनाथको मुकुट प्राणप्रतिष्ठा


मेचीकाली

काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको पनौतीमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उन्मत्त भैरवनाथको मुकुट (मूर्ति) वैदिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको छ।

पनौती नेपालको पहल, बिनायक फाउन्डेसनको आर्थिक व्यवस्थापन तथा सम्पदा संरक्षण महाअभियानको संयोजनमा वरिष्ठ मूर्तिकार रवि शाक्यद्वारा निर्मित उक्त मुकुट सोमबार (असार ८ गते) बाजागाजासहित नगर परिक्रमा गराएर इन्द्रेश्वर मन्दिर परिसरमा प्राणप्रतिष्ठा गरिएको हो। नगर परिक्रमा क्रममा बाँसुरी, धिमे लगायतका परम्परागत बाजागाजा बजाइएको थियो।

प्राणप्रतिष्ठा कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुरेश श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा नम्बर ७ का अध्यक्ष सबिन ताम्राकार, सम्पदा संरक्षण महाअभियानका संरक्षक एवं वरिष्ठ मूर्तिकार रवि शाक्य, अभियानका अध्यक्ष सुनिल प्रजापति, बिनायक फाउन्डेसनका अध्यक्ष विद्वान गुरु तथा नेवाः देय् दबूका निवर्तमान अध्यक्ष, जिल्ला सदस्य, विभिन्न स्थानीय संघ–संस्था, बुद्धिजीवी तथा नगरवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पनौतीमा परापूर्वकालदेखि नै ज्येष्ठ पूर्णिमाका अवसरमा उन्मत्त भैरव, भद्रकाली र महादेवका रथ पालैपालो जुधाएर जात्रा मनाउने परम्परा रहिआएको छ। स्थानीय समुदायले उक्त जात्रालाई पनौतीको मौलिक सांस्कृतिक पहिचानका रूपमा संरक्षण गर्दै आएका छन्।

आयोजकहरूले उन्मत्त भैरवनाथको मुकुट स्थापना तथा प्राणप्रतिष्ठाले पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया



थप समाचारहरु