काभ्रे–वर्षौंदेखि आफ्नो जग्गाको जग्गाधनी प्रमाणपत्र अर्थात लालपूर्जा पाउन नसकेका काभ्रेको भुम्लुका नागरिकमा फेरि लालपूर्जा पाइने आश जागेको छ । भुम्लु गाउँपालिका– ७ र ८ का लालपूर्जाविहिन नागरिकलाई लालपुर्जा उपलब्ध गराउनका लागि जिल्ला नापी कार्यालय काभ्रेपलाञ्चोकले पुनः नापी टोली खटाएसँगै नागरिकमा आशाको सञ्चार भएको हो ।
साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण यी दुई गाविस (हाल वडा–७ र ८)का हजारौँ सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् । सिमाना विवादका कारण पचास वर्षसम्म लालपुर्जाविहिन बनेका भुम्लु गाउँपालिका–७ र ८ का सर्वसाधारणलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्रदान गर्ने उद्देश्यले नापी कार्यालयले वि.स. २०७१ साल जेठ २५ गतेदेखि नापी टोली गाउँ पठाएको हो । कार्यालयले हालसम्म पटक÷पटक नापी टोली गाउँ पठाएपनि अहिलेसम्म मुख्य समस्या समाधान हुन भने सकेको छैन । पचास वर्षदेखि लालपुर्जाविहन बनेका यी दुई वडाबासीको समस्या समाधान गर्न नापी कार्यालयले केही दिनअघि पुनः अर्को नापी टोली पठाएको हो ।
प्रमुख नापी अधिकृत अशोककुमार भुसालले भुम्लुको दुई वडाको लालपुर्जाको समस्या समाधान गर्नका लागि दुई जना नापी अधिकृतको नेतृत्वमा दुई वटा टोलीलाई दुई वटा वडामा खटाइएको बताउनुभयो । उहाँले वडा नम्बर–७ मा देखिएको समस्या समाधानका लागि नापी अधिकृत ई. मदन खत्रीको नेतृत्वमा सर्वेक्षकहरु सानुराम कार्की, पुष्पा पराजुली, सोनिका पराजुली र लक्ष्मीनारायण चौधरीलाई खटाईएको बताउनुभयो ।
त्यस्तै वडा नम्बर–८ मा रहेको समस्या समाधानका लागि नापी अधिकृत जयराम तामाङको नेतृत्वमा सर्वेक्षकहरु राजेन्द्र खड्का, नारायण सिग्देल, रञ्जित धमला र सविता सापकोटालाई फिल्ड (कार्यक्षेत्र) मा खटाइएको कार्यालयले जनाएको छ । प्रमुख नापी अधिकृत भुसालले गाउँमा खटिएको नापीको टोलीले एउटा वडालाई चार भागमा विभाजन गरी चार जना वडा सदस्यलाई समेत सँगै लिएर गई सम्बन्धित जग्गाधनीलाई फिल्डमा नै बोलाई निवेदन सङ्कलन गर्ने, जग्गाको कित्ता पहिचान गर्ने र कित्ता अद्यावधिक गर्ने काम गर्ने बताउनुभयो ।
“गाउँमा खटिएको नापी टोलीले वि.सं. २०३२ सालको नापी अनुसारको कित्तामा हाल भोगचलन गर्नेको पहिचान, सोही अनुसार कित्ता अद्यावधिक गर्ने र उनीहरुको नाममा मालपोतबाट लगत भिडाएर जग्गा दर्ता गर्ने र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेछ” प्रमुख नापी अधिकृत भुसालले भन्नुभयो । उहाँले गाउँमा पुगेको नापी टोलीले जग्गधनी प्रमाणपुर्जाको लागि स्थानीयबासीको निवेदन लिएपछि उक्त जग्गाको लगत भिडाउनका लागि मालपोत कार्यालयमा पठाइने र मालपोतमा लगत भिडेको खण्डमा जग्गा दर्ता गरी लालपुर्जा दिइने बताउनुभयो ।
यसअघि विभिन्न समयमा गाउँमा पुगेको नापी टोलीलाई दुवै वडाका ८५८ जना स्थानीयबासीले लालपुर्जा पाउनका लागि निवेदन दिएका छन् । कार्यालयमा परेको निवेदनमध्ये हालसम्म १५४ वटा जग्गाधनी प्रमाणपुर्जा तयार भएको छ भने करिब छ सय वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालयमा पठाएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको नापी कार्यालयले जनाएको छ । भुम्लु गाउँपालिका–७ र ८ को लालपुर्जाको समस्या वषौसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो । त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्य योजना तयार गरी पेश गर्न नापी अधिकृत ई. ग्रिष्म प्रधानका अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरेको हो ।
साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् । वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । २०३५ सालमा पनि सिमानाको विषयलाई लिएर दुई गाविसबीच झगडा भएको करिब ५० वर्षपुग्दा समेत स्थानीयबासीले हालसम्म पनि आफ्नो जमिनको लालपुर्जा पाउन सकेका छैनन् ।