काभ्रे–२०८१ असोजको विपदपछि क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अलपत्र परेको छ । विपदपछिको दश मसहिना वितिसकेको छ । तर, अहिलेसम्म बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । बैशाख ३ गते गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट क्षति भएका निजी आवासको विस्तृत क्षति आङ्कलन (डिडिए) कार्यक्रमको सुरुवात रोशी गाउँपालिकाबाट गरेपनि हालसम्म उक्त पालिका बाहेक अन्य पालिकामा क्षति भएका घरहरुको डिडिए गर्ने काम सम्पन्न हुन सकेको छैन ।
बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए सम्पन्न नभएका कारण बाढीपहिरो पिडित नागरिकले बसोबासका लागि घर निर्माण गर्न सकेका छैनन् भने सरकारले निजी आवास पुननिर्माणको लागि प्रदान उपलब्ध गराउने रकम पाउने टुङ्गो समेत लागेको छैन । बाढीपहिरोबाट पिडित बनेका नागरिकहरुले आवास निर्माणको लागि सरकारबाट रकम नपाउँदा आफन्तको घरमा तथा भाडामा बस्न बाध्य भएका छन् ।
बाढीपहिरोबाट निजी आवास क्षति भएको रोसी गाउँपालिकाको डिडिए सकिएको छ भने नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल, चौरीदेउराली, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आङ्कलनको पूर्ण तथ्याङ्क आउन सकेको छैन । रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले क्षति गरेका गाउँपालिकाभित्रका ५६३ घरहरुको डिडिए गरिएको बताउनुभयो । उहाँँले डिडिएबाट प्राप्त नतिजा अनुसार गाउँपालिकाभित्र १९९ वटा घर पुननिर्माण गर्नैपर्ने, २१ वटा घरको माइनर रेट्रो फिटिङ, १९ वटा घरको मेजर रेट्रो फिटिङ गर्नुपर्ने औँल्याएको बताउनुभयो ।
डिडिए गर्ने क्रममा रोसी गाउँपालिकाभित्रका १९१ घरपरिवारको आवश्यक कागजात नपुगेको, १०७ घरधुरीको पुननिर्माण आवश्यक नरहेको (पुननिर्माणको लागि छनोट नहुने) तथ्याङ्क आएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सृजना श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी नमोबुद्ध नगरपालिकामा डिडिएका लागि छनोट भएका ८२४ घरधुरीमध्ये हालसम्म ५२७ वटा घरको डिडिए गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ नम्बरको २९७ घरधुरीको डिडिए गर्न बाँकी रहेको हो । डिडिएका लागि नगरपालिका र युएनडिपीका प्राविधिक खटिएपनि डिडिएका लागि खटिएका कर्मचारीको काम गर्ने समयसिमा सकिएका कारण चार वटा वडाको क्षति भएका घरहरुको डिडिए हुन नसकेको नगरपालिकाका वातावरण शाखा प्रमुख सन्तोष काफ्लेले बताउनुभयो । उहाँले डिडिए सम्पन्न भएका घरहरुमध्ये कतिवटा घरहरु पुननिर्माणको लागि योग्य भए भन्ने विषयको समेत तथ्याङ्क नआएको बताउनुभयो ।
पनौती नगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष अधिकारीले बाढीपहिरोले क्षति गरेका नगरभित्रका ६३५ घरको डिडिए गर्नका लागि आठ जना प्राविधिक खटाइएको बताउनुभयो । उहाँले सोमबारसम्म नगरपालिकाभित्रका ३३५ घरको डिडिए गर्ने काम सकिएको बताउनुभयो । डिडिए गर्नुपर्ने घरको सङ्ख्या धेरै र दक्ष जनशक्ति कम तथा पोर्टलमा तथ्याङ्क प्रविष्टि गर्ने एक्सेस भएका प्राविधिक कम भएका कारण डिडिएमा ढिलाई भएको बताउनुभयो । उहाँले यो साताभित्र डिडिए गर्ने काम सकिने बताउनुभयो ।
बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बाढीपहिरोबाट क्षति भएका २८५ घरको डिडिए गर्नुपर्ने बताउनुभयो । उहाँले विविध कारणले गर्दा डिडिए गर्ने काममा ढिलाई भएको बताउँदै हालसम्म वडा नम्बर १ मा दुई, वडा नम्बर २ मा १३ र वडा नम्बर ३ मा तीन वटा घरको डिडिए गर्ने काम सकिएको बताउनुभयो । उहाँले डिडिए गर्न सक्ने कर्मचारीको अभावका कारण बाढीपहिरोबाट क्षति भएका घरहरुको डिडिए गर्न ढिलाई भएको बताउनुभयो । र
ाष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव (प्राविधिक) ईन्जिनियर अर्जुनकुमार बमले बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए गर्ने काम स्थानीय तहको भएको बताउँदै प्राधिकरणले उक्त कार्यको लागि आवश्यक पर्ने तालिम मात्रै प्रदान गर्ने बताउनुभयो । उहाँले कतिपय स्थानीय तहका प्राविधिकहरुले नभ्याइएको कारण देखाउँदै डिडिर्ए गर्न ढिलाई भएको जवाफ दिएको बताउनुभयो । उहाँले डिडिए गर्ने काम स्थानीय तहको प्राथमिकतामा नपरेको बताउनुभयो । गत असोज महिनाको बाढीपहिरोका कारण जिल्लाको १३ वटै स्थानीय तहमा क्षति पुगेको थियो ।