महाविपत्तिको एक महिना : अब अस्थायी आवास, पुर्नवास र पुर्ननिर्माणबारे छलफलमा स्थानीय तह


मेचीकाली

काभ्रे–७९ जनाको ज्यान जानुका साथै अर्बौंको संरचना नष्ट हुने गरी काभ्रेमा महाविपत्ति आएको एक महिना नाघेको छ । असोज १० देखि १२ गतेसम्म आएको वर्षा र बाढी पहिरोका कारण क्षति पुगेका ठाउँमा  खोज, उद्धारको कार्यक्रममा लागेका स्थानीय तहहरु राहत वितरण, प्रभावित परिवारको पुर्नबास र पुननिर्माणतर्फ अघि बढेका हुन् । 

बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरु प्रभावित घरपरिवारलाई राहत वितरण, घर पूर्ण क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरुको तथ्याङ्क सङ्कलनमा लागेका छन् । जिल्लाको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भई समस्यामा परेका ११० परिवारलाई पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँच जनाभन्दा माथि सदस्य भएका परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराइएको बताए । उनले बाढीपहिरोका परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको दुई लाख रुपियाँमा गाउँपालिकाले किरिया खर्च वापत ५० हजार थप गरी नगद राहत हस्तान्तरण गर्ने काम समेत सम्पन्न गरिएको बताए ।

तिहारअघि बाढीपहिरोबाट घर पूर्ण क्षति भएका परिवालाई राहत रकम वितरण गरिसक्ने गरी काम गर्नका लागि घर पूर्ण रुपमा क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन गर्ने कामलाई तीव्रता दिइएको लामाको भनाक्षर्् छ । प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब ३५० घर पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

बाढीपहिरोबाट प्रभावित बनेको पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको बताउँदै बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुलाई दीर्घकालिन समाधानका लागि योजनाको स्टिमेट गर्नेलगायतको काम अघि बढाइएको जानकारी दिएका छन् । । क्षति भएका विद्यालयहरुमा तिहारपछि कक्षा सञ्चालन गर्नका लागि अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गर्ने, सिञ्चाईको योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनको लागि काम भईरहेको बताए । बाढ्रीपहिरोबाट घर पूर्ण क्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको बताउँदै बाढीपहिरोपछि आफन्तको गएर बस्नु भएको र पछि सम्पर्कमा आएका २५० परिवारलाई पहिलो चरणको राहत समेत वितरण गरिएको उनले बताए ।

बाढीपहिरोबाट घर पूर्ण क्षति भएका करिब एक सय परिवारलाई नविल बैङ्कले अस्थायी घर बनाइदिने विषयमा छलफल भएको भण्डारीले बताए । नगरप्रमुख भण्डारीले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने बताउँदै बस्ती नै स्थानान्तरण गर्नुपरेको खण्डमा उपयुक्त स्थानमा स्थानान्तरण गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरिने बताए । उनले बाढीपहिरोबाट क्षति भएको घरहरुको विवरण सङ्कलन गर्ने काम भईरहेको बताए ।

जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट क्षति भई अवरुद्ध भएका सडकहरु खोल्ने काम सम्पन्न, बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सुचारु भएसँगै आवश्यक घरधुरीमा राहत समेत पु¥याइएको बताए । उनले बाढीपहिरोबाट बस्ने घर र जग्गा नभएका परिवारको तथ्याङ्क सङ्कलन गरी पुर्नवासको लागि नेपाल सरकारलाई सिफारिस गर्नका लागि तथ्याङ्क सङ्कलनको काम समेत अघि बढाइएको बताएका छन् । बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका परिवारका लागि आवास निर्माणको लागि नविल बैङ्कसँग छलफल अघि बढेको बताउँदै अधिकारीले बाढीपहिरोबाट ठेक्का आह्वान भएका ११ वटा योजनाको ठेक्का रद्द गरी नयाँ लागत अनुमान तयार गर्ने, घर पूर्ण रुपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँच जनाभन्दा माथि सदस्य भएका परिवारलाई २० हजारका दरले सम्बन्धित व्यक्तिको खातामा राहत रकम उपलब्ध गराउने काम समेत अघि बढाइएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष अधिकारीले बाढीपहिरोबाट गाउँपालिकाभित्रका चार हजार चार सय घरपरिवार नै प्रभावित बनेपनि प्रारम्भिक तथ्याङ्क अनुसार ५५० वटा घर पूर्ण क्षति र करिब एक हजार तीन सय घर आशिंक क्षति भएको बताए । गाउँपालिका खोज तथा उद्धार, राहत वितरण, तथ्याङ्क सङ्कलनपछि प्रभावित परिवारको पुर्नवास र पुर्ननिर्माणमा अघि बढ्ने अधिकारीको भनाई छ । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका घरपरिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भईरहेको बताउँदै तथ्याङ्क प्राप्त भएपछि राहत वितरण, पुननिर्माणको काम अघि बढाइने बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने