काभ्रे–असोज ११ गतेदेखि अवरुद्ध भएको विपी राजमार्ग आजदेखि सूचारु भएको छ । आज बिहानदेखि विपी राजमार्ग सुचारु भएलगत्तै फेरि पहिरो गएका कारण दिउँसोसम्म पुनः अवरोध भएको थियो । तर, पहिरो पन्छाएसँगै अहिले राजमार्ग एकतर्फीरुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।
विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको थियो । दिनरातको अथक प्रयासपछि सडक विग्रेको ठाउँमा डाइभर्सन बनाएर बिहानै सडक सुचारु गरिएको थियो । तर, लगत्तै काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट राजमार्ग पुन अवरुद्ध बन्यो ।
पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो । यस्तै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको थियो । दिनभरको प्रयासपछि पहिरो हटाएर राजमार्ग सुचारु गरिएको हो ।
राजमार्ग सुचारु भए पनि जोखिम कायमै रहेकाले प्रहरीले अत्यावश्यक कामबाहेकका लागि विपी राजमार्ग प्रयोग नगर्न अपिल गरेको छ । अझै पनि कतिपय ठाउँमा पहिरोको जोखिम कायमै रहेको छ भने साना सवारीसाधनका लागि डाइभर्सन गरिएका क्षेत्र उपयुक्त देखिएको छैन ।
असोज ११ र १२ गतेको बर्षासँगै आएको बाढीले विपी राजमार्गमा सबैभन्दा बढी असर पारेको थियो । अहिले तत्काललाई राजमार्ग खुलाइए पनि पुन पक्की सडक निर्माणका लागि भने चुनौती देखिएको छ । सडकका अधिकांश भाग रोशीको बाढीले कटान गरेको छ भने पहरामा सडक निर्माण गर्न जोखिमपुर्ण देखिएको छ ।