धुलिखेल–सडक डिभिजन कार्यालय भक्तपुरले विपी राजमार्ग रातीको समयमा बन्द गर्ने भएको छ । गत असोजमा आएको बाढी र पहिरोका कारण विपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म अधिकांश ठाउँमा सडक ध्वस्त भएको थियो । डाइभर्सन बनाएर सडक सञ्चालन गरिए पनि अझै भरपर्दो नभएकाले रातीको समयमा सडक वन्द गरेर मर्मत गर्न लागिएको हो ।
डिभिजन कार्यालयले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राती ९ बजेदेखि बिहान ४ बजेसम्म धुलिखेल–बर्षेखोला खण्ड बन्द रहने जनाएको छ । चौकीडाँडा, नार्केबजार, कालढुंगा, माम्तीखोलासम्म डाइभर्सनको ममर्त कार्य रातीको समयमा हुने डिभिजन कार्यालयले जनाएको छ ।