यी हुन् काभ्रेमा अहिलेसम्म तय भएका उम्मेदवारहरु


मेचीकाली

काभ्रे–प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोली देशभर प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा दलहरु उम्मेदवार चयन गर्न तल्लिन भएका छन् । काभ्रेमा अधिकांश दलहरुले आफ्नो उम्मेदवार चयन गरिसकेका छन् ।

नेकपा एमालेले काभ्रेका दुबै क्षेत्रमा उम्मेदवार चयन गरिसकेको छ । एमालेले क्षेत्र नंवर १ मा अमित लामालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नंवर २ मा अशोक व्याञ्जूलाई उम्मेदवार बनाएको छ । लामा  र व्याञ्जू दुबै एमाले केन्द्रीय सदस्य हुन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्नुअघि व्याञ्जूले भोली नै धुलिखेलको नगरप्रमुख पदबाट राजिनामा दिँदैछन् । उनी २०७४ साल र २०७९ को स्थानीय तह निर्वाचनमा धुलिखेलको नगरप्रमुख निर्वाचित भएका थिए । 

नेपाली कांग्रेसले काभ्रे क्षेत्र नंवर २ मा मधु आचार्यलाई टिकट दिएको छ । आचार्य २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । यद्यपि उक्त निर्वाचनमा उनी एमालेका गोकुल बाँस्कोटासँग पराजित भए ।  कांग्रेसले काभ्रे क्षेत्र नं १ मा भने उम्मेदवार चयन गरिसकेको छैन । जिल्ला सचिव गुणराज मोक्तान उम्मेदवार बन्ने लगभग निश्चित भएको बताइए पनि शेरवहादुर देउवा समूहको भागमा पर्दा गणेश लामा उम्मेदवार हुने चर्चा पनि चलिरहेको छ ।

 नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ मा नेकपाको केन्द्रिय दिननाथ गौतम र क्षेत्र नं २ मा नेकपाका केन्द्रिय सदस्य बसुन्धरा हुमागाईलाई उम्मेदवार बनाएको छ । गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा चौरीदेउराली गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाईं पूर्व प्रदेशसभा सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री हुन् । उनी २०७४ को निर्वाचनमा क्षेत्र नं. २ (ख) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काभ्रेको क्षेत्र नम्बर १ को लागि रास्वपाका क्षेत्र नम्बर १ का सभापति मधु चौलागार्ई उम्मेदवार बनेका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा वदन भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी रास्वपा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् । उनी यसअघि नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर १ को लागि पार्टीको जिल्ला उपाध्यक्ष नवराज सत्याललाई उम्मेदवार दिएको छ । त्यस्तै, क्षेत्र नम्बर २ को लागि पार्टीको केन्द्रिय श्रोत साधन विभागका सदस्य रंजिब श्रेष्ठलाई पार्टीले टिकट दिएको छ । त्यस्तै, उज्यालो पार्टी नेपालले क्षेत्र नम्बर १ को उम्मेदवार टुंग्याउन सकेको छैन भने क्षेत्र नम्बर २ मा केन्द्रिय सदस्य ज्योत्सना सैंजुलाई निर्वाचनमा उठाएको छ । सैंजु होटल व्यवसायी हुन् । 


प्रतिक्रिया



थप समाचारहरु