काभ्रे-काभ्रेको स्वतन्त्र तथा साना दलका उम्मेदवारहरुले ठूला राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना नगरेको बताएका छन् ।
निर्वाचन आचारसंहिताका विषयमा आज काभ्रे क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सहभागीहरु स्वतन्त्र उम्मेदवार तथा साना दलका उम्मेदवारले ठूला दलका उम्मेदवारहरु आचारसंहिताविपरित घरदैलोमा लागेको बताए । निर्वाचन कार्यक्रमअनुसार फागुन ४ गतेदेखि मात्रै निर्वाचन प्रचारप्रसार तथा घरदैलो एवं कोणसभा गर्न पाइन्छ । तर, यसविपरित कतिपय उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन् । केही दलका उम्मेदवार बाजागाजासहित भोट मागिरहेका छन् भने कुनै दलका उम्मेदवारको पक्षमा मोटरसाइकल र्यालीसमेत भइरहेको छ ।
छलफलमा काभ्रे २ का स्वतन्त्र उम्मेदवार बिष्णुकुमार श्रेष्ठले राजनीतिक दलका उम्मेदवारहरु घरदैलोमा लागिसकेको र यो आचारसंहिता विपरित भइरहेको बताए । उनले निर्वाचनको मौन अवधिमा सबैभन्दा बढी आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरे । ‘विशेषगरी निर्वाचनको अघिल्लो रात दलका उम्मेदवारहरु पैसा बाँड्दै भोट किन्न हिँड्छन्’ उनले भने । नेमकिपाका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार राजु तामाङले निर्वाचन आचारसंहिता विपरित भइरहेका गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
छलफलको क्रममा निर्वाचन आयोगले भने आचारसंहिता पालना गरे नगरेको अनुगमन भइरहेको भन्दै उल्लंघन गरेको पाइएमा कार्बाही गर्ने चेतावनी दिएको छ । आयोगले उम्मेदवारहरूलाई आर्थिक पारदर्शिता अपनाउन आग्रह पनि गरेको छ ।
निर्वाचन आचारसंहिताविपरित अनावश्यक खर्च नगर्न तथा पारदर्शी स्रोतबाटमात्रै आर्थिक कारोबार गर्न आयोगले आग्रह गरेको छ । आयोगले आचारसंहिता उल्लंघन गरे कार्बाही गर्ने चेतावनी पनि दिएको छ । काभ्रेका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले आर्थिक कारोबार गर्दा सचेतना अपनाउन आग्रह गरे । डिजिटम माध्यमबाट उम्मेदवार, राजनीतिक दलहरूले गरिरहेको आर्थिक कारोबारको साइबर ब्युरो र नेपाली सेनाले समेत सुक्ष्मरुपमा अध्ययन गरिरहेको उनले बताए । यस्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा सरकारी कर्मचारीले आचारसंहिता उल्लंघन गरेको कुरा आइरहेकाले कर्मचारीहरूलाई आचारसंहिता पालना गर्न सचेत गराइएको जानकारी दिए । आचारसंहिता निर्वाचनको मेरुदन्ड भएको बताउँदै उनले पुर्ण पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरे ।
कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत रुद्र कोइरालाले बैंक खाता खोलेर मात्रै निर्वाचनमा खर्च गर्न आग्रह गरे । उनले आचारसंहिताको आर्थिक पाटोबारे प्रस्तुतिकरणसमेत दिएका थिए । उनले काभ्रे जिल्लामा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान भएको भन्दै त्योभन्दा बढी खर्च नगर्न, अवैधानिक स्रोतबाट आर्थिक संकलन नगर्न सचेत गराए ।