काभ्रेका यी उम्मेदवारले अझै खोलेनन् बैंक खाता, कताबाट कसरी गरिरहेका होलान् खर्च ?


मेचीकाली

काभ्रे–फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिले देशभरका उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्दै कुदिरहेका छन् । निर्वाचनका लागि गाडीदेखि प्रचारप्रसारमा उनीहरुले ठूलै रकम खर्च गरिरहेका छन् । चुनावमा गर्ने खर्च निर्वाचन विशेष खाताबाट मात्रै गर्नुपर्ने व्यवस्था यसपटकको निर्वाचनदेखि लागु भएको छ । तर, काभ्रेका ४२ मध्ये ९* जना उम्मेदवारले अझै बैंक खातासमेत नखोलेको पाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख दिनेश शिवाकोटीका अनुसार आजसम्म ४२ मध्ये ३३ जना उम्मेदवारले खाता खोलेका छन् । उनीहरुले निर्वाचन विशेष खाता खोले पनि आम्दानी र खर्चको विवरण भने निर्वाचनपछि मात्रै निर्वाचन आयोगमा बुझाउनेछन् ।

आजसम्म खाता नखोल्नेमा काभ्रे क्षेत्र नंवर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गुणराज मुक्तान, क्षेत्र नंवर १ मै नेमकिपाबाट उम्मेदवार बनेका राजु तामाङ, सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका मानवहादुर तामाङ र स्वतन्त्र उम्मेदवार युवराज चौलागाईं रहेका छन् । 

यस्तै क्षेत्र नंवर २ का उम्मेदवारहरु नेमकिपाकी मुना तामाङ, जनता समाजवादी पार्टी नेपालका रकम लामा (तामाङ), र स्वतन्त्र उम्मेदवारहरु गणेश अधिकारी, लेनिन बिष्ट र विष्णुकुमार श्रेष्ठले पनि हालसम्म निर्वाचन खर्च प्रयोजनका लागि खाता खोलेका छैनन् । बैंक खाता खोल्नका लागि उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालय काभ्रेबाट सिफारिस लिनुपर्नेछ । 

२६ माघमा जिल्लाका सबै उम्मेदवारलाई बोलाएर निर्वाचन आयोगका प्रतिनिधिहरुले नयाँ व्यवस्थाअनुसार खाता सञ्चालन गरेर सोही खाताबाट मात्रै निर्वाचन खर्च गर्न आग्रह गरेका थिए । निर्वाचन आयोगले काभ्रे जिल्लामा एउटा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । उम्मेदवारले निर्वाचनका लागि २५ हजार रुपैयाँसम्म रसिद काटेर चन्दा सहयोग लिन पाउने, त्योभन्दा बढी सहयोग खातामार्फत नै लिनुपर्ने तथा रसिद काटेर लिइएको सहयोग पनि तत्कालै बैंक खातामै जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खाता बन्द गर्नुपर्ने तर ६ वर्षसम्म खातामा भएको कारोबारको विवरण सुरक्षित राख्नुपर्ने व्यवस्था पनि रहेको छ ।

उम्मेदवारले अन्य व्यक्तिबाट निर्वाचन खर्च गराउन नहुने र गराइएमा २५ हजार रुपैया“सम्म जरिवाना हुने, आयोगले तोकेको सीमाभन्दा बढी खर्च गरे खर्च गरेको रकमजत्तिकै जरिवाना हुने, प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण नबुझाए पनि जरिवाना हुने व्यवस्था रहेको छ । 

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । यसबाट दल तथा उम्मेदवारको खर्च पारदर्शी हुने आयोगको विश्वास छ । 

काभ्रेमा बैंक खाता नखोल्ने उम्मेदवारहरु चुनावी अभियानमा भने तीब्ररुपमा लागिरहेका छन् । सुशासनका लागि पारदर्शिता पहिलो शर्त हो । उनीहरुले बैंक खाताबाट गर्नुपर्ने निर्वाचन खर्च कसरी गरिरहेका होलान् भन्ने चासो पनि बढेको छ । यससँगै उनीहरुको निर्वाचन खर्च विवरण पारदर्शी हुनेमा आशंका पनि बढेको छ । 

*यस अघि प्रकाशित विवरणमा १० जना उम्मेदवारको खाता खोल्न बाँकी रहेको उल्लेख भएकोमा उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैंजूले आफ्नो बैंक खाता खोलिसकेको सप्रमाण जानकारी गराएकाले सच्याइएको छ।

प्रतिक्रिया



थप समाचारहरु