एक लाख पाँच हजार नागरिक बिमित


मेचीकाली

काभ्रे– नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचार सहजताका लागि अघि सारेको ‘स्वास्थ्य बिमा’ कार्यक्रममा काभ्रेका करिब तीस प्रतिशत नागरिकले सहभागिता जनाएका छन् । स्वास्थ्य बिमा बोर्ड काभ्रेका अनुसार सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाको कुल जनसङ्ख्याको २९ दशमलव ८० प्रतिशत नागरिकले बिमा कार्यक्रममा सहभागिता जनाएका छन् । 

स्वास्थ्य बिमा बोर्ड काभ्रेकी प्रमुख मुना निरौलाले २०६८ सालको जनगणना अनुसार जिल्लामा रहेको तीन लाख ५२ हजार ६०७ जनसङ्ख्यामध्य झण्डै ३० प्रतिशत अर्थात् एक लाख पाँच हजार ८२ जनाले स्वास्थ्य बिमा गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको बनेपा नगरपालिकाका २३ हजार ३११ जना, धुलिखेल नगरपालिकाका २२ हजार ६८९ जना, पनौती नगरपालिकाका १७ हजार ११४ जना, पाँचखाल नगरपालिकाका १२ हजार ९०६ जना, मण्डनदेउपुर नगरपालिकाका १० हजार २४९ जना र नमोबुद्ध नगरपालिकाका पाँच हजार ९८६ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

यसैगरि जिल्लाको भुम्लु गाउँपालिकाका तीन हजार ६१० जना, रोशी गाउँपालिकाका दुई हजार ४५७ जना, बेथानचोक गाउँपालिकाका दुई हजार ८७ जना, चौरीदेउराली गाउँपालिकाका एक हजार ६२८ जनाले स्वास्थय बिमा गरेका हुन् । त्यस्तै जिल्ला कै तेमाल गाउँपालिकाका एक हजार ३५२ जना, महाभारत गाउँपालिकाका एक हजार ७० जना र खानीखोला गाउँपालिकाका ६२४ जनाले बिमा कार्यक्रममा सहभागिता जनाएका छन् । निरौँलाका अनुसार जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बिमा गर्ने स्थानी तहमा धुलिखेल नगरपालिका रहेको छ । धुलिखेलका ७० दशमलव ५४ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा सबैभन्दा कम खानीखोला गाउँपालिकामा सबैभन्दा कम अर्थात् कूल जनसङ्ख्याको ४ दशमलव ३३ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता जनाएका छन् । 

बोर्ड काभ्रेकी प्रमु्ख निरौँलाले हालसम्म जिल्लामा नौ हजार ५३५ परिवारले बिमाको म्याद समाप्त भई नविकरण गरेका छन् । जिल्लामा बिमितमध्ये छ हजार २८८ जना जेष्ठ नागरिक रहेका छन् भने जिल्लाका ४३५ महिला स्वास्थ्य स्वयम्सेविका, ५३ परिवार एचआईभि सङ्क्रमित परिवार, २४ कुष्ठरोगी परिवार, ४०९ पूर्ण अपाङ्ग परिवार रहेका छन् । हालसम्म जिल्लामा स्वास्थ्य बिमा वापतको एघार करोड ३५ लाख ४३ हजार चार सय रुपियाँ सङ्कलन भएको छ । सरकारले महिला स्वास्थ्य स्वयम्सेविकालाई बिमा गर्दा ५० प्रतिशत छुट, पूर्ण अपाङ्गता र एचआईभि सङ्क्रमितका परिवारलाई सबै बिमा रकम छुट गरेको छ । 

बिमा कार्यक्रमका लागि प्रत्येक वडामा एक जनाका दरले जिल्लाभरमा एक सय ३५ जना दर्ता सहयोगी रहेका छन् । काभ्रेमा धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा विमित व्यक्तिहरुले उपचार गराउन सक्नेछन् । 




प्रतिक्रिया



थप समाचारहरु