रोसीको बाढीले बगाएका ६ वटा झोलुङ्गे पुल पुननिर्माण हुने


मेचीकाली

काभ्रे– काभ्रेको रोसी खोलामा ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण हुने भएको छ । २०८१ असोज १०–१२ गते अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति पुगेको झोलुङ्गे पुलको झण्डै दुई वर्षपछि पुननिर्माण हुने भएको हो । डेढ वर्षअघि रोसी खोलामा आएको बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी र तेमाल गाउँपालिका जोड्ने आधा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । 

बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि २० महिना अघि क्षति भएको पुल निर्माण हुनेमा स्थानीयबासी आशावादी भएका हुन् । रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले २०८१ असोज दोस्रो साताको बाढीका कारण रोसी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबीच आवतजावत गर्न बनेका झोलुङ्गे पुलहरु पूर्ण रुपमा क्षति हुँदा स्थानीयबासीहरुले सास्ती व्यहोर्नु परेको बताउनुभयो । 

उहाँले बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकहरुले वर्षाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेको र खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस आसपासका नागरिकहरु रोसी खोलामा फड्के हालेर खोला वारपार गर्नुपर्ने अवस्था रहेको छ भने बाढी आउँदा एक घण्टा हिँडेर पक्की वा झोलुङ्गे पुल तरेर आफ्नो गन्तव्यमा जानुपर्ने बाध्यता कायम छ” गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो । उहाँले वर्षायामको समयमा खोलामा हालेको फड्के बाढीले बगाउने भएकोले विपी राजमार्ग अन्र्तगत नार्केका नागरिक गिम्दीबेशीमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

“बाढीले बगाएका छ वटा झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको जानकारी पाएका छौँ, यो यस क्षेत्रका आम नागरिकका लागि खुसीको खबर हो, पुल पुननिर्माण भएपछि यस क्षेत्रका नागरिकले खोला पार गर्नका लागि डर मान्नुपर्ने र एक घण्टासम्म हिड्नुपर्ने बाध्यता अन्त्य हुनेछ” गाउँपालिका अध्यक्ष लामाले आशावादी हुँदै भन्नुभयो । बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुल पुननिर्माणको लागि बजेट ब्यवस्थापन गरिदिन रोसी गाउँपालिकाले अर्थ मन्त्रालयलाई गत चैत १९ गते अनुरोध गरेको थियो । 

सहरी विकास मन्त्रलालय अन्र्तगतको सस्पेन्सन बृज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर (सिडिई) प्रेमनारायण बस्यालले २०८१ असोज दोस्रो साताको बाढीबाट क्षतिग्रस्त भएको काभ्रपलाञ्चोकका छ वटा झोलुङ्गे पुल पुननिर्माणको लागि स्रोत सुनिश्चित भएको बताउनुभयो । उहाँले बाढीले पूर्ण रुपमा क्षति गरेको रोसी गाउँपालिका–३ स्थित नमोबुद्ध रोसी (पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोसी गाउँपालिका–११ स्थित माम्ति पिप्ले (लोङसाङ कालढुङ्गा झोलुङ्गे पुल) र पिप्लेदोभान झोलुङ्गे पुल पुननिर्माणको लागि स्रोत सुनिश्चित भएको बताउनुभयो । 

यसैगरी बाढीले क्षतिग्रस्त रोसी गाउँपालिका–९ स्थित नार्के झोलुङ्गे पुल र रोसी गाउँपालिका–७ स्थित कटुञ्जेबेशी–१ यूएस झोलुङ्गे पुल पुननिर्माणको लागि तीन करोडदेखि साढे पाँच करोड रुपियाँसम्म स्रोत सुनिश्चित गरिएको बताउनुभयो । बागमती नदिमा आएको बाढीले क्षति काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुननिर्माणको लागि समेत स्रोत सुनिश्चित भएको छ । “स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणको लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम सुरु गर्नेछौँ” सिडिई बस्यालले भन्नुभयो । उहाँले पुल पुननिर्माणको क्रममा कहिँकतै जग्गा विवाद देखिएका विवाद देखिएका योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने बताउनुभयो । उहाँले स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र पुननिर्माण भैसक्ने बताउनुभयो ।

यसैबीच २०८१ असोज दोस्रो साताको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोसी खोलाको रहेको फलामे पुल बगाएको र वर्षायामको समयमा विपी राजमार्ग अवरुद्ध भएको अवस्थामा बैकल्पिक मार्गको रुपमा प्रयोग गर्नका लागि रोसी खोलाको मङ्गलटार र काल्धार जोड्ने बेली ब्रिज जडान गर्न प्रशासन कार्यालयले सडक विभागलाई अनुरोध समेत गरेको छ । २० महिनाअघि रोसी खोलामा आएको बाढीले विपी राजमार्गको २८ किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचना समेत बगाएको थियो । 



प्रतिक्रिया



थप समाचारहरु