काभ्रे- देशमा १९ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइरहँदा 'गणतन्त्रले के दियो ?' भन्ने प्रश्न उठेको पाइन्छ । तर समग्र विकासको अवस्था हेर्ने हो भने काभ्रे जिल्लामै पनि उल्लेख्य विकास भएको तथ्यले बताउँछ ।
---
गणतन्त्र स्थापना भएसँगै सङ्घीय राजधानी काठमाडौँको नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिञ्चाई, सडक पूर्वाधार, सञ्चार, कृषि तथा पशुपालनको क्षेत्रमा थुप्रै परिवर्तन आएको छ । गणतन्त्र स्थापनासँगै आएको परिवर्तनका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५ मा मूलुककै गौरवको आयोजनाको रुपमा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटि प्रिन्टिङ प्रेस) स्थापना भएको छ । पनौतीमा स्थापना भएको मुद्रण केन्द्रमा हाल सवारी लाइसेन्स, हुलाक टिकटको छपाई हुँदै आएको छ भने आगामी दिनमा राहदानी, सरकारी प्रमाणपत्र, बैङ्क नोट छाप्ने लक्ष्य राखिएको छ ।
गणतन्त्र स्थापनापछिको परिवर्तन कै कारण जिल्लाको पनौती नगरपालिका–६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण काम भैरहेको छ भने हाल प्रतिष्ठानको काम ८८ प्रतिशत सम्पन्न भै अन्तिम चरणमा रहेको छ । यस्तै नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बनेपा नगरपालिका–१३ र १४ मा रहेको पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको काम भैरहेको छ । आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको विश्वविद्यालय निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ । गणतन्त्र स्थापनापछि नै दुई देशलाई जोड्ने दुई लेनको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक छ लेनमा बिस्तार भैरहेको छ भने सडक विस्तारको काम काभ्रेपलाञ्चोकतर्फ ७० प्रतिशत सम्पन्न भैसकेको छ ।
गणतन्त्र स्थापनाअघि दुई दिन लगाएर जानुपर्ने जिल्लाको विकट मानिने डाँडापारी क्षेत्रका दश गाउँ विकास समिति (हालको महाभारत र खानीखोला गाउँपालिका) मा सडक ट्रयाक निर्माणसँगै केही किलोमिटर सडक कालोपत्रे र ढलान गर्ने काम गरिएको छ । यी गाउँपालिकामा बिहान सदरमुकामबाट उक्त पालिकाका केन्द्र पुगेर राती फर्कन सकिने अखवस्था बनेको छ ।
जिल्लाका अधिकाँश घरधुरीमा अहिले ‘एक घर, एक धारा’ अन्र्तगतको खानेपानीको सुविधा, खेतियोग्य जमिनमा सिञ्चाई सुविधा पुगेको छ । गाउँगाउँमा सडकका ट्रयाक निर्माण तथा सडक कालोपत्रे, ढलानहरु भएका छन्, गाउँगाउँमा सामुदायिक बिद्यालयहरुमा पक्की बिद्यालय भवन निर्माण, अधिकाँश घरधुरीमा शौचालयको सुविधा पुगेका छन् । गाउँगाउँमा सिंहदरबार भने झै नागरिकले आफ्नै स्थानमा सरकारको अनुभूति गर्न पाएका छन्, परम्परागत रुपमा हुँदै आएको कृषि क्षेत्रमा व्यवसायिकरण, यान्त्रिकरण भएको छ, कृषकहरु अन्नबालीका साथै ताजा तरकारी, फलफुल खेति, व्यवसायिक पशुपालनमा आकर्षित भएका छन् । गाउँगाउँमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्य चौकीहरु स्थापना भै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ, गणतन्त्रसँगै जिल्लामा भएका विभिन्न पर्यटकियस्थलहरुको पहिचान तथा प्रचारप्रसार भएका छन् ।
पर्यटकलाई आकर्षित गर्नका लागि धुलिखेल, बन्थली, बनेपा, नगरकोटमा स्टार लेभलका होटल तथा रिसोर्टहरु स्थापना भएका छन् भने केही थपिने क्रममा रहेका छन् । गणतन्त्र स्थापनाकै कारण जिल्लाका विभिन्न स्थानीय तहमा १० देखि १५ शैय्याका अस्पताल निर्माणको काम भैरहेको छ, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित भएका नागरिकलाई टेलिफोन र इन्टरनेट सेवा पु¥याउनका लागि टेलिफोनका टावर र इन्टरनेटका टावरहरु निर्माण गरिएका छन् । गणतन्त्र स्थापना कै कारण जिल्लाको पाँचखालमा सेज निर्माणको काम भैरहेको छ भने केही स्थानमा औद्योगिक ग्राम निर्माणको काम समेत अघि बढाइएको छ ।
गणतन्त्र स्थापनापछि सडकपुल, नागरिहरुलाई आवतजावत गर्नका लागि खोलाहरुमा झोलुङ्गे पुलहरु समेत निर्माण गरिएको छ । गणतन्त्रअघि भाडाको घरमा र पुराना भवनहरुमा बसेर नागरिकलाई सुरक्षा प्रदान गर्दै आएका प्रहरीका लागि सुविधा सम्पन्न नयाँ कार्यालय भवन र आवास गृह निर्माण भएका छन् भने खेलकुदको क्षेत्रमा गाउँगाउँमा खेल मैदानहरु समेत निर्माण भएका छन् ।