काभ्रे–काभ्रे जिल्लामा नयाँ नागरिकता बनाउने भन्दा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा काभ्रेमा ९ हजार २ सय ५९ जनाले नयाँ नागरिकता बनाएका छन् । तर, प्रतिलिपि लिनेको संख्या भने ९ हजार ८ सय ४५ रहेको छ । यो गत वर्ष साउन १ गतेदेखि यही असार २४ गतेसम्मको जिल्ला प्रशासन कार्यालय काभ्रेको तथ्यांक हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यो अवधीमा ७१ जनाले नागरिकता परित्याग गरेका छन् । यस्तै ६७ वटा गैर आवासीय नागरिकता जारी भएको छ भने १० जनाको नागरिकता रद्द भएको छ । अदालतको आदेशअनुसार ती १० जनाको नागरिकता रद्द भएको ढकालले जानकारी दिए । ये अवधीमा २ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् ।
जिल्लामा नागरिकता बनाउनेको भन्दा राहदानी अर्थात पासपोर्ट बनाउनेको संख्या निकै बढी देखिएको छ । यो अवधीा १५ हजार ९३ जनाले पासपोर्टका लागि आवेदन दर्ता गराएका छन् । अघिल्लो आर्थिक वर्षको बाँकीसहित गरेर १५ हजार ६ सय ६९ वटा नागरिकता यो वर्ष वितरण गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेमा ७४ वटा मुद्दा दर्ता भएकोमा ४१ वटा फर्छ्यौट गरिएको छ भने ३ सय ४३ वटा ठाडो उजुरी र गुनासो दर्ता भएकोमा ३ सय ३१ वटा फर्छ्यौट भइसकेको छ ।