काभ्रे– धुलिखेल अस्पतालको मुटुरोग विभाग अचेल निकै व्यस्त रहने गरेको छ। कारण हो— दिनप्रतिदिन बढ्दै गएका मुटुका बिरामी। पछिल्लो समय मानिसहरूको भान्छा र बानी दुवै बिग्रँदा हृदयघातजस्तो गम्भीर समस्याले विकराल रूप लिँदै गएको चिकित्सकहरूले औंल्याएका छन्।
मङ्गलबार धुलिखेल अस्पतालमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुले डरलाग्दो तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, "अस्वस्थकर खानपान र व्यायामविहीन जीवनशैलीले गर्दा मुटुरोगीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। पहिले–पहिले पाका उमेरका मानिसमा मात्र देखिने यो समस्या अहिले युवा पुस्तामा समेत डढेलोझैँ फैलिएको छ।"
युवा पुस्ता र जीवनशैलीको जोखिम
धूम्रपान, मद्यपान, र लागुऔषधको बढ्दो प्रयोगले युवाहरूलाई हृदयघातको मुखमा धकेलिरहेको छ। डा. कोजुका अनुसार हृदयघात भएपछि गरिने उपचार निकै खर्चिलो र जोखिमपूर्ण हुने भएकाले समयमै खानपान सुधार्नु र नियमित शारीरिक व्यायाम गर्नु नै जीवन जोगाउने एक मात्र विकल्प हो।
उपचारमा धुलिखेलको फड्को
आजभन्दा २३ वर्षअघि सन् २००३ मा एउटा सानो कोठा र एक जना चिकित्सकबाट सुरु भएको मुटुरोग सेवा आज एउटा ठुलो विभागमा रूपान्तरण भएको छ। हाल यहाँ ३ जना विशेषज्ञसहित २५ जनाको टोलीले सेवा दिइरहेको छ। अस्पतालले सन् २०२१ देखि मुटुको रक्तनली जाँच्ने (एन्जियोग्राफी) र साँघुरिएको नली खुलाउने (एन्जियोप्लास्टी) सेवा निरन्तर दिँदै आएको छ। अस्पतालले विकसित देशमा उपलब्ध हुने स्तरको उपचार सेवा यहाँ सम्भव तुल्याएको छ। यद्यपि, मुटुभित्रको अल्ट्रासाउण्ड गर्ने प्रविधि भने अझै उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ।
बढ्दो तथ्याङ्कले के भन्छ?
बिरामीको चाप कसरी बढिरहेको छ भन्ने कुरा अस्पतालको पछिल्लो पाँच वर्षको तथ्याङ्कले स्पष्ट पार्छ। सन् २०२१ मा ६० जनाको मात्र एन्जियोग्राफी र ९ जनाको एन्जियोप्लास्टी भएकोमा सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या निकै बढेको छ। सन् २०२५ मा ६७६ जनाले एन्जियोग्राफी र १५८ जनाले एन्जियोप्लास्टी सेवा लिएका छन्। यसैगरी सन् २०२२ मा २४४ जनाको एन्जियोग्राफी र ३९ जनाको एन्जियोप्लास्टी भएको थियो भने २०२३ मा ३५४ एन्जियोग्राफी र ७९ एन्जियोप्लास्टी भएका थिए। सन् २०२४ मा पनि ३०९ जनाको एन्जियोग्राफी र ८१ जनाको एन्जियोप्लास्टी गरिएको थियो। वर्षभरिमा अस्पतालको मुटु ओपिडीले मात्रै करिब एक लाख बिरामीलाई सेवा पुर्याउनुले पनि मुटुरोगको भयावह अवस्थालाई पुष्टि गर्छ।