काभ्रे– होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको रणनैतिक योजना तयार भएको छ । काभ्रेको धुलिखेलमा आयोजित दुई दिने रणनैतिक योजना तर्जुमा कार्यशालाबाट संघको रणनैतिक योजना तयार भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यवसायिक प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहजिकरण गरेको कार्यशाला अत्यन्तै उपलब्धीमूलक रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रम होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह आयोजनामा सम्पन्न भएको थियो । गोष्ठीको प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ककार्यशालामा सह आयोजक संघ काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष तथा प्रदेश संघका बरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु मुनालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यशालामा संघको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल भएको थियो । कार्यक्रमबाट सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार भएको छ । यस्तै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरिएको छ ।
कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।