जिल्ला सहकारी संघको ४५औँ साधारणसभा : विभिन्न संस्था र व्यक्तित्व पुरस्कृत


मेचीकाली , 

बनेपा- ‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ जिल्ला सहकारी संघको ४५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।


साधारणसभामा संघका अध्यक्ष अमन पोटेले संस्थाले अघिल्लो वर्ष सञ्चालन गरेका गतिविधि, आगामी कार्ययोजना तथा सहकारी क्षेत्रसँग सम्बन्धित पछिल्ला नियम, कानून र ऐनमा भएका परिवर्तनबारे जानकारी गराएका थिए।


संघका सचिव प्रकाश बञ्जारले संगठनात्मक, संरचनागत तथा नीतिगत क्षेत्रमा भएका गतिविधिसहित स्थापना दिवस र सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी कोषाध्यक्ष अर्जुन सापकोटाले अघिल्लो आर्थिक वर्षको आम्दानी तथा खर्च, चालु आर्थिक वर्षको बजेट, आर्थिक कारोबार, लाभांश वितरण, खर्च कटौती तथा राज्यका विभिन्न निकायमा राजश्वमार्फत संघले गरेको योगदानसम्बन्धी विवरण प्रस्तुत गरे।


लेखा समितिका सदस्य पवनराज कर्णजितले लेखा समितितर्फबाट भएका गतिविधि तथा प्रगतिबारे जानकारी गराएका थिए। साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।


सभाले शेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत पारित गरेको छ। संघको शेयर पुँजी ३ करोड ४९ लाख ६ हजार ४ सय रुपैयाँ रहेको छ भने २७ करोड १ लाख ६२ हजार ३ सय ९९ रुपैयाँ कर्जा लगानी गरिएको छ। संघले ५ करोड ८४ लाख ६५ हजार ४ सय २९ रुपैयाँ बचत संकलन गरेको जनाएको छ।


विभिन्न खर्च कटाएर संघको खुद मुनाफा १ करोड २९ लाख ७२ हजार ७ सय १२ रुपैयाँ रहेको छ। संघले विभिन्न निकायमा राजश्व तथा करबापत ७० लाख ३४ हजार ८ सय ४८ रुपैयाँ बुझाएको जनाएको छ। साधारणसभामा जग्गाको पुनर्मूल्यांकन कोष, जोखिम कोषलगायत विभिन्न कोषमा समेत रकम जम्मा गरिएको जानकारी दिइएको थियो।


साधारणसभामा संघकी महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तव्य राखेकी थिइन्। उपाध्यक्ष शान्ति लामालगायतले सभाको सफलताका लागि धन्यवाद व्यक्त गरेका थिए।


काभ्रेमा ५ सय ८८ सहकारी सञ्चालनमा


सभामा काभ्रेमा सहकारी संस्थाको वर्तमान अवस्थाबारे समेत जानकारी गराइएको थियो। डिभिजन सहकारीबाट १ हजार ४ सय ९५ वटा सहकारी हस्तान्तरण भएकोमा पछिल्लो तथ्यांकअनुसार ५ सय ८८ वटा सहकारी चालु अवस्थामा रहेको जनाइएको छ।


सहकारी संस्थाहरूबीच एकीकरण हुने तथा बन्द हुने क्रम जारी रहेकाले ३ सयभन्दा बढी सहकारी नियमित अवस्थामा रहेको तथ्यांक प्रस्तुत गरिएको थियो। जिल्ला सहकारी संघमा भने ५ सय ८८ वटा सहकारी संस्था आबद्ध रहेको जनाइएको छ।


विभिन्न विधामा पुरस्कार तथा सम्मान

४५औँ साधारणसभाको अवसरमा जिल्ला सहकारी संघले सहकारी क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न संस्था तथा व्यक्तिलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरेको छ। सहकारी व्यवसाय, असल ऋणी सदस्य संस्था, सहकारी पत्रकारिता र उत्कृष्ट सहकारी कर्मचारीलगायत विधामा पुरस्कार प्रदान गरिएको हो।


बहुउद्देश्यीय सहकारी विधातर्फको सहकारी व्यवसाय पुरस्कार २०८३ श्री सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पनौती–६, काभ्रेलाई प्रदान गरिएको छ।


त्यस्तै, कृषि सहकारी विधातर्फको सहकारी व्यवसाय पुरस्कार २०८३ श्री प्रतिष्ठा सहकारी संस्था लिमिटेड, पाँचखाल–३, काभ्रेले प्राप्त गरेको छ।


असल ऋणी सदस्य संस्था पुरस्कार २०८३ श्री नमस्ते कृषि सहकारी संस्था लिमिटेड, धुलिखेल–३, काभ्रेलाई प्रदान गरिएको छ।


त्यसैगरी सहकारी पत्रकारिता पुरस्कार २०८३ नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमिल्सिनालाई प्रदान गरिएको छ। सहकारी क्षेत्रका गतिविधि तथा विषयवस्तुलाई पत्रकारितामार्फत प्रवर्द्धन तथा प्रचारप्रसार गर्न योगदान पुर्‍याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।


यस्तै, सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८३ श्री लक्ष्मी महिला साकोस, पनौती–५ का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई प्रदान गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु