काभ्रेका राजनीतिक दल र उम्मेदवारहरु भन्छन्, 'आचारसंहिता पालना गर्न प्रतिवद्ध छौं'


मेचीकाली

काभ्रे–फागुुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा निस्कनुअघि निर्वाचन आयोगले आचारसंहिता पालना गर्न सचेत गराएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा आज राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारहरु, कर्मचारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम लगायतका सरोकारवालासहितको छलफल आयोजना गरिएको थियो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिता पालना गर्नुपर्ने विषयमा सचेत गराउन आयोजित छलफलमा दल र उम्मेदवारले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए । उनीहरुले आफूहरु आचारसंहिता पालना गर्न प्रतिवद्ध भइरहँदा अन्य दल र उम्मेदवार तथा मिडियाहरुले यसको पालना गरे या नगरेको प्रभावकारी अनुगमन गर्न पनि आग्रह गरे । 

छलफलमा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन आचारसंहिता र त्यसको उल्लंघन गरेमा हुने कानुनी कार्बाहीबारे जानकारी गराए । उनले पूर्णरुपमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवारहरु, सञ्चारमाध्यमसहित सबै सरोकारवालालाई आग्रह गरे । स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पालना महत्वपूर्ण रहनेमा न्यौपानेले जोड दिएका थिए । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आचारसंहिता स्वच्छ निर्वाचनको मेरुदण्ड भएकाले पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरे ।

काभ्रे क्षेत्र नंवर १ का निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले तोकिएको समयमा मात्रै प्रचारप्रसार गर्न राजनीतिक दल तथा सञ्चारमाध्यमहरुलाई आग्रह गरे । पछिल्लो समय एआईको दुरुपयोग गर्दै भ्रामक प्रचार हुनसक्ने सम्भावना रहेको बताउँदै उनले त्यसमा सचेत रहन आग्रह गरे । 

छलफल कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाईंले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले चुनावी प्रचार तालिका बनाउँदा दलहरुबीच समन्वय गरेर बनाउन सके चुनावी प्रचारको क्रममा हुने सम्भावित झडप र मुठभेड रोक्न सकिने बताए । यस्तै नेकपा एमालेका नवराज ढकालले सामाजिक सञ्जालहरुको निगरानी र अनुगमन बढाउनुपर्नेमा जोड दिए । निर्वाचन आचारसंहिताको कार्यान्वयन जति प्रभावकारी बनाउन सकियो त्यति नै स्वच्छ र निष्पक्ष निर्वाचन हुने उनको भनाई थियो । काभ्रेमा विगतमा पनि मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको उदाहरण रहेको भन्दै ढकालले यसपटक पनि मर्यादित, स्वच्छ र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । यस्तै रास्वपाका गुणनिधि सापकोटाले निर्वाचनको क्रममा जनप्रतिनिधिबाट सरकारी सवारीसाधनको दुरुपयोग हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सचेत गराए । सबै दल र उम्मेदवारलाई निर्वाचन आयोगले समान ढंगले व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा समावेशी समाजवादी पार्टीबाट काभ्रे २ मा उम्मेदवार बनेका पारालिंगी उम्मेदवार विनोद लामाले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई निर्वाचन प्रचारप्रसारको क्रममा अपमान गर्ने गरिएको भन्दै आफूहरुको सुुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए । काभ्रे २ कै स्वतन्त्र उम्मेदवार आशा तामाङले चुनावी प्रचारमा स्वतन्त्र उम्मेदवारले नेपालको झण्डा प्रयोग गर्न पाउनुपर्ने बताइन् । कार्यक्रमका अन्य सहभागीहरुले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भइरहँदा पनि कार्बाही नभएको भन्दै यसपटक भने कडारुपमा अनुगमन र कार्बाही गर्न माग गरे ।


प्रतिक्रिया



थप समाचारहरु