काभ्रे–फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरु अहिले मतदाता आकर्षित गर्न लागिरहेका छन् । निर्वाचन आउन एक महिना बाँकी रहँदा उम्मेदवारहरुको चुनावी चटारो बढिरहेको छ ।
दलहरुले चुनावी घोषणापत्र ल्याइनसक्दा उम्मेदवारहरु भने चुनावी बाचा बोकेर गाउँ पस्न थालिसकेका छन् । यसपटक काभ्रेका दुई क्षेत्रबाट जसले जिते पनि प्रतिनिधिसभामा उनीहरुको पहिलो यात्रा हुने भएको छ । काभ्रेका दुई क्षेत्रमा गरी ४२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । क्षेत्र नं. १ मा १८ जना र क्षेत्र नंवर २ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये एकजनाबाहेक सबै उम्मेदवारले पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लडिरहेका हुन् । यसअघि पनि उम्मेदवार बनेका एकजना पनि निर्वाचन जित्न सकेनन् । जसका कारण यसपटक काभ्रेका दुबै क्षेत्रमा जो निर्वाचित भए पनि नयाँ अनुहार प्रतिनिधिसभामा देखिने भएको हो ।
यस पटक नेपाली काङ्ग्रेसले क्षेत्र नंवर २ मा यसअघि पनि निर्वाचन लडेका उम्मेदवारलाई मौका दिएको छ । यसबाहेक नेपाल कम्यूनिष्ट पार्टी एमाले, नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाका दुवै क्षेत्रमा विगतका निर्वाचनमा उम्मेदवारी नदिएका नेतालाई उम्मेदवार बनाएका छन् ।
यस पटक नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा जिल्ला सचिव गुणराज मुक्तान, नेकपा एमालेले केन्द्रिय सदस्य अमि (अमित) लामा, नेपाली कम्यूनिष्ट पार्टीले चौरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवक्ता मधुकुमार चौलागाँईलाई उम्मेदवार बनाएको छ । केही महिनाअघि मात्रै गठन भएको उज्यालो नेपाल पार्टीले योगेन्द्र लामालाई उम्मेदवार बनाएको छ । उनीहरु सबै पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उत्रिएका हुन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट रेशमबहादुर लामा र नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सूर्यमान दोङले उम्मेदवारी दिएका थिए भने निर्वाचनबाट गठबन्धनका उम्मेदवार सूर्यमान दोङ विजयी भए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा यस पटक नेपाली काङ्ग्रेसबाट २०७४ सालका उम्मेदवार केन्द्रिय सदस्य मधुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने यस पटक यो क्षेत्रमा केन्द्रिय सदस्य तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा आचार्यलाई एमालेका उम्मेदवार गोकुल बास्कोटाले पराजित गरेका थिए । यो निर्वाचन क्षेत्रमा लगातार तीन पटक एमालेका नेता गोकुलप्रसाद बास्कोटालाई उठाएको थियो । यो क्षेत्रमा बास्कोटाले २०७९ सालको निर्वाचनमा गठनबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाँईलाई पराजित गरेका थिए । यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर–२ मा नेपाली कम्यूनिष्ट पार्टीका तर्फबाट बसुन्धरा हुमागाँई, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बदनकुमार भण्डारी र पछिल्लो समय गठन भएको उज्यालो नेपाल पार्टीले ज्योत्सना सैँजुलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा उम्मेदवार बनेका ब्याञ्जु, हुमागाँई र भण्डारी कुनै बेला एउटै पार्टी अर्थात् नेकपा एमालेमा सँगै थिए ।
दुबै क्षेत्रमा चारजनाबीच कडा प्रतिष्पर्धाको आँकलन
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा मुख्यगरी चार वटा राजनीतिक दलका उम्मेदवारहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस पटक अघिल्ला निर्वाचनमा क्षेत्र नम्बर–१ मा हार व्यहोरेको नेकपा एमाले निर्वाचनलाई आफ्नो पक्षमा पार्ने दाउमा लागेको छ भने नेपाली काङ्ग्रेस पनि लामो समयपछि आफ्नो पक्षमा पार्ने गरी निर्वाचनमा होमिएको छ । यो क्षेत्रमा अघिल्लो पटक निर्वाचन जितेको गठनबन्धतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवारको विजयी जस्तै यो पटक पनि नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार र रास्वपाका उम्मेदवार पनि नतिजा आफ्नो पक्षमा पार्नका लागि चुनावी मैदानमा उत्रिनुभएको छ ।
अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर–२ मा पराजय ब्यहोरेको नेपाली काङ्ग्रेस पार्टी पनि यस पटक क्षेत्र नम्बर–२ मा विजयी हुन कसरत गरिरहेको छ । अघिल्लो निर्वाचनमा विजयी भएको नेकपा एमाले यस पटक पनि अघिल्ला दुई निर्वाचनमा जस्तै यस पटक पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवार पनि यस पटक यो क्षेत्रमा विजयी भएर इतिहास रच्ने दाउमा लागेका छन् ।