काभ्रेमा बढ्दै चुनावी चहलपहल, निर्वाचन शान्तिपूर्ण हुनुपर्नेमा सबैको जोड


मेचीकाली

काभ्रे–फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनको दिन नजिकिँदै गर्दा काभ्रेमा चुनावी चहलपहल बढ्दै गएको छ । 

राजनीतिक दलहरु निर्वाचनका लागि तयारीमा लागिरहेका बेला निर्वाचन आयोग र सुरक्षा निकायले यसअघि नै चुनावी गतिविधि अघि बढाएकोमा थप तीब्र बनाइएको छ । दलहरुले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाइसकेका छन् । माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । त्यसका लागि माघ २ गते काभ्रेका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन क्षेत्र नंवर १ को कार्यालय पनौती नगरपालिकामा स्थापना हुनेछ भने २ को कार्यालय शैक्षिक तालिम केन्द्र धुलिखेलमा स्थापना हुनेछ । 

निर्वाचनको तयारी चलिरहँदा आज जिल्ला निर्वाचन कार्यालय काभ्रेले सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना ग¥यो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि सहभागी थिए । 

छलफलका सहभागीहरुले स्वच्छ, निष्पक्ष र भयरसहत वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले निर्वाचन आयोग र सुरक्षा निकाय लागेरमात्रै निर्वाचन भयरहित नहुने बताउँदै सबै राजनीतिक पार्टीले आयोग र सुरक्षा निकायलाई सघाउनुपर्ने बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले स्वच्छरुपमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । उनले जनप्रतिनिधिको नाताले निर्वाचनका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । काभ्रेका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउन सबै राजनीतिक दललाई आग्रह गर्दै धाँधलीरहित, निष्पक्षपमा निर्वाचन गराउन आफूहरु तम्तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विगतका अनुभवलाई समेत समेटेर सुरक्षा योजना बनाइएको र सुरक्षा निकाय परिचालित भइसकेको बताए । सुरक्षामा कुनै चुक हुन नदिने भन्दै अधिकारीले दलहरुलाई ढुक्क भएर निर्वाचनमा लाग्ने आग्रह गरे ।  

यस्तै नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले देश निर्वाचनमा होमिइसक्दा पनि अझै पनि शान्ति सुरक्षाको विषयमा ढुक्क हुन सक्ने वातावरण नभएकाले सुरक्षा निकायले निर्वाचन सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए । रास्वपा जिल्ला सचिव जिएन सापकोटाले निर्वाचन आयोग र सुरक्षा निकायले ठूला र साना दलका उम्मेदवार भनेर भेदभाव गर्ने गरेको गुनासो गर्दै आगामी निर्वाचनमा सबैलाई समान रुपमा व्यवहार गर्न आग्रह गरे । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले निर्वाचनका लागि नेपाल प्रहरीबाट ११ सय १५ जना, सशस्त्र प्रहरीबाट ३ सय ५० जना सुरक्षाकर्मी परिचालिन हुने जानकारी दिए । अहिले निर्वाचन प्रहरीको भर्ना प्रक्रिया चलिरहेको र काभ्रेमा २ हजार २ सय ६९ जना निर्वाचन प्रहरी भर्ना गर्ने शाहले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेमा २ वटा निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ६ सय ११ मतदाता कायम भएका छन् । क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्वर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् । 


प्रतिक्रिया



थप समाचारहरु