तालढुङ्गालाई प्रदेशको नमूना उदयीमान सहर बनाइँदै


मेचीकाली

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक रुपमा विकट गाउँपालिकाको रुपमा रहेको खानीखोला गाउँपालिकाको केन्द्रलाई प्रदेशभित्रको नमूना उदयीमान सहरको रुपमा विकास गरिने भएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदयीमान नमूना सहरको रुपमा विकास गर्न बजेट विनियोजन गरको हो ।
प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुङ्गालाई उदयीमान नमूना सहर बनाउनका लागि शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकमार्फत दुई करोड रुपियाँ विनियोजन गरेको हो । कार्यालयका प्रमुख ई. सन्तोष कुमार निरौलाले प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुङ्गा बजारलाई नमूना उदयीमान सहरको रुपमा विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको बताउनुभयो । “प्रदेश सरकारले गाउँपालिकाबाट अन्य स्थानमा हुने बसाईसराई रोक्ने तथा गाउँपालिकाभित्रको नजिकको बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम गर्न लागेको हो” ई. निरौलाले भन्नुभयो । उहाँले काभ्रेपलाञ्चोक र मकावानपुर जिल्लालाई सडक मार्गमा जोड्नका लागि बागमती नदिमा पुल निर्माणको काम भईरहेको बताउँदै पुल सम्पन्न भएपछि तालढुङ्गाबाट प्रदेश राजधानी हेटौडा दुई घण्टामा पुगिने बताउनुभयो ।
उहाँले गाउँपालिकाले गत वर्ष गाउँपालिकाको केन्द्र रहने स्थानको विकासको लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार पारेको बताउनुभयो । ई. निरौलाले गाउँपालिकाकाले तयार गरेको डिपिआरको विषयमा जनप्रतिनिधी, शहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी उक्त डिपिआरलाई आवश्यकता अनुसार परिमार्जन गरी काम अघि बढाउने बताउनुभयो । उहाँले तालढुङ्गालाई नमूना उदयीमान सहरको रुपमा विकास  गर्नका लागि विभिन्न सहरी योजनाविद्हरुसँग के कस्तो काम गर्ने भन्ने विषयमा सल्लाह, सुझाव तथा छलफल गरिने बताउनुभयो । विपी राजमार्ग र मदन भण्डारी राजमार्ग जोड्ने सडकमा तालढुङ्गा सहर पर्दछ । तालढुङुगा बजार खानीखोला गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले प्रदेश सरकारले प्रदेशभित्रको नमूना कार्यक्रमको रुपमा नमूना उदयीमान सहरको अवधारणा अघि सारेको बताउनुभयो । उहाँले तालढुङ्गा नमूना सहर निर्माण भएसँगै खानीखोलाका साथै महाभारत गाउँपालिकाको समेत बजार हुने बताउनुभयो । उहाँले तालढुङ्गामा सडक, ढल, बस्ती विकास, पार्कहरु निर्माणलगायतका काम गरेर बनेपा, धुलिखेल, हेटौडामा उपलब्ध हुने सेवा दिन सकेको खण्डमा पर्यटकको विकास हुने बताउनुभयो । उहाँले तालढुङ्गालाई प्रदेशभित्रको सानो, सुन्दर, आकर्षक सहर बन्ने दावी गर्नुभयो । प्रदेश सरकारले तालढुंगा बजारलाई नमूना शहरको रुपमा विकास गर्ने योजनालाई धेरै खानीखोलाबासी तथा जिल्लाबासीहरुले राम्रो योजनाको रुपमा लिएका छन् भने कतिपयले शहर बनाउने विषयलाई मजाकको रुपमा लिएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु